Logo
Logo

उपत्यकामा एकै दिन ६७५ चालक ट्राफिक कारबाहीमा


0
Shares

काठमाडौँ । काठमाडौं उपत्यकामा एकै दिन ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा तीव्र गतिमा सवारी चलाउने ११३ र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३ जना छन् ।

त्यस्तै, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन अनुशासन उल्लङ्घन गर्ने तीन र एकतर्फी सडकमा विपरीत दिशाबाट सवारी चलाउने आठ जना कारबाहीमा परेका छन् ।

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रवक्ता सुवेदीका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ ।

विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उनले बताए ।

ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ ।

प्रहरीले सडक अनुशासन कायम राख्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000