
काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि कार्यसम्पादन, अनुशासन र आर्थिक पारदर्शितासम्बन्धी लिखित प्रतिबद्धता अनिवार्य गर्ने भएको छ । पार्टी सभापति गगन थापाले टिकट लिने बेलामै पार्टीको नीति, नियम र कार्यसम्पादन मापदण्ड पालना गर्ने सहमति गर्नुपर्ने व्यवस्था अघि सारेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौँ’ अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले आगामी निर्वाचनबाट निर्वाचित हुने जनप्रतिनिधिहरूलाई विगतमा जस्तो मनलाग्दी ढङ्गले काम गर्ने छुट नहुने स्पष्ट पारे । पार्टीको नीति र अनुशासनविपरीत काम गरे वा आर्थिक अनियमिततामा संलग्न भएको पाइए पदबाट हटाउनेसम्मको व्यवस्था प्रतिबद्धतामै समेटिने उनको भनाइ छ ।
थापाका अनुसार पार्टी विधानमा रहेको ‘रिकल’ अर्थात् निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्थालाई प्रभावकारी बनाउने गरी उम्मेदवारले टिकट लिँदै लिखित सहमति गर्नुपर्नेछ । पार्टीको नियम र निर्देशन उल्लङ्घन गरेमा फिर्ता बोलाउन सकिने तथा आर्थिक अनियमितता भए पदबाट हटाउने सर्तसमेत उम्मेदवारले स्वीकार गर्नुपर्ने उनले बताए ।
त्यस्तै, कांग्रेसबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरू पार्टीको ‘गभर्नेन्स इन्स्टिच्युट’सँग निरन्तर समन्वयमा रहेर काम गर्ने व्यवस्था पनि अघि सारिएको छ। उक्त संस्थाले पाँच वर्षसम्म वडा तहदेखि स्थानीय सरकारको कार्यसम्पादनमा निगरानी, सहयोग र सशक्तीकरण गर्ने सभापति थापाले जानकारी दिए । यसबाट स्थानीय सरकारको काममा पार्टीले संस्थागत जिम्मेवारी लिने र परिणाममुखी कार्यसम्पादन सुनिश्चित गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।
गभर्नेन्स इन्स्टिच्युटको नेतृत्व राजनीतिक व्यक्तिले गर्ने भए पनि संस्थाभित्र विज्ञ तथा व्यावसायिक व्यक्तिहरूले काम गर्ने व्यवस्था रहने थापाले स्पष्ट पारे। स्थानीय तहका सरकारलाई आवश्यक नीतिगत सामग्री र मार्गदर्शन उपलब्ध गराउने जिम्मेवारी पार्टीको ‘पोलिसी एकेडेमी’ले निर्वाह गर्नेछ ।
वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको पोलिसी एकेडेमीले पूर्वाधार, जलवायु परिवर्तन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नीति निर्माण तथा अध्ययन गरिरहेको भन्दै थापाले ती नीतिहरू गभर्नेन्स इन्स्टिच्युटमार्फत स्थानीय सरकारसम्म पु¥याइने बताए ।
पार्टीले अघि सारेको नयाँ कार्यप्रणाली र संरचनाबारे स्थानीय तहसम्म जानकारी पु¥याउन अभिमुखीकरणमा सहभागी प्रतिनिधिहरूलाई आग्रह गर्दै थापाले आगामी दिनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जवाफदेही, अनुशासित र परिणाममुखी बनाउने लक्ष्य रहेको उल्लेख गरे ।


















