Logo
Logo

२०४६ सालदेखि सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्न गगनको माग


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेका छन् । सम्पत्ति छानबिनको विषयमा कांग्रेस तयार रहेको भन्दै उनले विगतमा अनुसन्धानका नाममा थन्काइएका फाइलसमेत पुनः खोल्नुपर्ने बताएका हुन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौँ’ अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले सार्वजनिक ओहोदामा बसेका प्रत्येक व्यक्तिको सम्पत्ति विवरण जाँचबुझ हुनुपर्ने धारणा राखे । उनले २०४६ सालदेखि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न र अनुसन्धान हुनुपर्ने भन्दै कांग्रेसले त्यसका लागि सरकारलाई आग्रह गर्ने बताए ।

थापाले विगतमा अनुसन्धानका नाममा थन्काइएका फाइलहरूको समेत पुनः अनुसन्धान गर्नुपर्ने उल्लेख गर्दै भ्रष्टाचार र अनियमितताको छानबिनमा कांग्रेस खुला रहेको बताए । यही सन्देश जनतामाझ स्पष्ट रूपमा पु¥याउन उनले अभिमुखीकरणमा सहभागी स्थानीय तहका प्रतिनिधिहरूलाई आग्रहसमेत गरे ।

तर, सम्पत्ति छानबिन र अनुसन्धान प्रक्रिया कानुनअनुसार हुनुपर्नेमा उनले जोड दिएका छन् । अनुसन्धानका नाममा राजनीतिक पूर्वाग्रह राखेर कसैलाई दुःख दिने काम स्वीकार्य नहुने भन्दै थापाले सरकारी निकायहरू कानुनी प्रक्रियाअनुसार सञ्चालन हुनुपर्ने बताए ।

कांग्रेसका कुनै नेता वा सार्वजनिक पदमा रहेका व्यक्तिले गलत गरेको भए कानुनअनुसार कारबाही हुनुपर्नेमा पार्टी स्पष्ट रहेको उनको भनाइ छ । तर, गल्ती नगरेको व्यक्तिलाई राजनीतिक प्रतिशोधका आधारमा दुःख दिने प्रवृत्ति भने स्वीकार्य नहुने उनले टिप्पणी गरे ।

थापाले यही मापदण्ड राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको हकमा पनि लागू हुनुपर्ने बताएका छन् । कुनै नेता वा मन्त्रीविरुद्ध आरोप सार्वजनिक हुँदैमा दोषी ठहर गर्न नमिल्ने भन्दै उनले गल्ती गरेको भए जोसुकैलाई पनि कानुनअनुसार अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे ।

सम्पत्ति छानबिन, भ्रष्टाचार नियन्त्रण र कानुनी प्रक्रियाको निष्पक्षता सुनिश्चित गर्ने सन्देशसहित जनतामाझ जान उनले कांग्रेसका स्थानीय प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000