काठमाडौं । सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोसी प्रदेशबाट सुरु हुँदै छ । नेपाली सेनाका सहायकरथी एवं सैनिक प्रवक्ता राजेन्द्र श्रेष्ठका अनुसार यस वर्षको सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण-पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेको छ ।

यस पटक यही मङ्सिर १४ देखि २५ गतेसम्म कोसी र बागमती प्रदेशका २४ जिल्लाका भूपूसैनिकलाई समेट्ने गरी २० स्थानमा हुने सम्मेलनमा करिब ५५ हजार भूपूसैनिकको सहभागिता रहने अनुमान गरिएको छ ।
पहिलो चरणमा यस वर्ष पूर्वी पृतनाअन्तर्गत सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, उदयपुर, खोटाङ र सोलुखुम्बुमा सम्मेलन हुनेछ ।
हरेक प्रधान सेनापतिको कार्यकालमा प्रत्येक प्रदेशमा एकपटक आयोजना गरिने सम्मेलनलाई वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी गरिँदै आएको छ । पृतनाको मुख्यालयमा हुने सम्मेलनलाई प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गर्नुहुने छ ।
भूपूसैनिक सम्मेलनसम्बन्धी गतिविधि समेटिएको नेपाली सेनाद्वारा राससलाई उपलब्ध लेख यस प्रकार छ स्
‘भूपू सैनिक सम्मेलन २०८३’
नेपाली सेनाले करिब एक लाख अवकाश प्राप्त सैनिकबीच पुनर्मिलन गराउने हेतुले विसं २०७० बाट भूतपूर्व सैनिक सम्मेलन सञ्चालन गर्दै आइरहेको छ । ‘एक पटकको सिपाही, जीवन रहेसम्म सिपाही’ रहने हुँदा अवकाश प्राप्त सैनिकका आश्रित परिवारको शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्ने, सुविधा तथा सहुलियत प्रदान गर्ने र सीप तथा स्वरोजगार कार्यक्रम सैनिक कल्याणकारी कोषले सञ्चालन गर्दै आइरहेको छ ।
हरेक प्रधान सेनापतिको कार्यकालमा एकपटक सञ्चालन गरिने भूतपूर्व सैनिक सम्मेलनलाई वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी प्रत्येक चरणमा निश्चित प्रदेशमा कार्यक्रम सञ्चालन गरी तीन वर्षमा देशभर सञ्चालन हुँदै आइरहेको छ । यस वर्ष सञ्चालन हुने भूपूसैनिक सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेको छ ।
सैनिक व्यक्तिको अवकाशपछिको जीवनमा थप ऊर्जा प्रदान गर्ने, एकापसमा भेटघाट गरी आफ्ना सुख–दुःखका अनुभव साट्ने, बहालवाला सैनिक र अवकाश प्राप्त सैनिकबीच सामीप्यको भावना जागृत गराउने, नेपाली सेनाद्वारा सञ्चालित विविध कल्याणकारी कार्यहरूको जानकारी गराई अझै समयानुकूल सुधारका लागि थप राय-सुझावहरू सङ्कलन गरी प्रभावकारी बनाउने उद्देश्यले भूपूसैनिक सम्मेलन आयोजना हुँदै आएको छ ।
भूपूसैनिक सम्मेलन समग्र राष्ट्र तथा नेपाली सेनाका लागि पूर्वसैनिकले सेवारत रहँदा पु¥याएको सेवा र समर्पणको यथोचित सम्मान पनि हो । भूपूसैनिक सम्मेलनले समाजमा छरिएर रहेका भूपूसैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिबीच पुनर्मिलन गरी आपसी भाइचाराको विकास गर्दै अपनत्वको भावना कायम गर्नाका साथै भूपूसैनिक तथा एकल महिला र आश्रित परिवारहरूको आर्थिक, सामाजिक एवम् भौतिक जीवनस्तरमा सुधारका लागि महत्वपूर्ण पक्षहरू जस्तै शिक्षा, स्वास्थ्य, स्वरोजगार, पुनः रोजगार तथा आवासजस्ता कल्याणकारी आवश्यकताहरूको सम्बोधन गर्दै आइरहेको छ ।
यस किसिमका सम्मेलनमार्फत सेनाप्रति समर्पित भूपूसैनिक तथा एकल महिलाहरूको सञ्जाल निर्माण तथा सोको परिचालन गरी नियमित सेना र भूपूसेनाबीच आपसी हितका लागि सहकार्यको वातावरण सृजना गर्नाका साथै भूपूसैनिक व्यक्तिहरू र प्रधान सेनापतिबीच प्रत्यक्ष अन्तरक्रिया तथा छलफल गर्न कोसेढुङ्गा साबित भएको छ । यस वर्ष योजना गरिएको भूपूसैनिक सम्मेलनमा कोसी प्रदेश र बागमती प्रदेशका करिब ५५ हजार जनाको उपस्थितिरहने अनुमानसहित मङ्सिर महिनाको तेस्रो र चौथो हप्ता गरी तीन चरणमा भूपूसैनिक सम्मेलन २०८३ सञ्चालन गर्न लागिएको छ ।
यस वर्ष पूर्वी पृतनाअन्तर्गत सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, उदयपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा मध्य पृतनाअन्तर्गत चितवन, मकवानपुर, धादिङ, नुवाकोट र रसुवा तथा उपत्यका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी कुल २४ जिल्लाका २० स्थानमा यही मङ्सिर १४ देखि २५ गतेसम्म आयोजना हुनेछ ।
अवकाश प्राप्त सैनिक एवं पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई लक्षित गरी सञ्चालन हुँदै आएको भूपूसैनिक सम्मेलनले विशिष्ट महत्व बोकेको छ । यस किसिमका सम्मेलनले हिताधिकारीको आत्मीयता, भरोसा एवं विश्वास बढ्दै गएको महसुस गरिएको छ भने सम्पूर्ण हिताधिकारीहरूको प्रतिष्ठा र आत्मसम्मानमा पनि वृद्धि भएको पाइन्छ । स्थान विशेषमा रहेका हिताधिकारीहरूको चाहना, आवश्यकता, रायसुझाव र गुनासाहरू नेतृत्व तहबाट स्थान विशेषमै गएर बुझी उनीहरूको समस्या समाधान गराउनेतर्फ ठोस निर्णय लिन पनि यस प्रकारका कार्यक्रम फलदायी हुनाका साथै कल्याणकारी सेवासुविधालाई अझै परिमार्जित र परिष्कृत गर्दै लैजान मद्दत पुग्ने विश्वास लिइएको छ ।


















