Logo
Logo

प्रहरीमा चेक बाउन्सको आतंक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । उपत्यकाका सबैभन्दा धेरै हुने अपराध के होला ? धेरैलाई चोरी भन्ने लाग्न सक्छ तर, होइन प्रहरीको तथ्याङकअनुसार चेक बाउन्स (बैंकिङ कसुर) उपत्यकामा सबैभन्दा धेरै हुने अपराध हो ।
यो अपराध यसरी बढेको छ कि प्रहरी अधिकारी, सरकारी वकिल र अदालतका कर्मचारीसमेत हैरान भइसकेका छन् । चेक बाउन्ससम्बन्धी प्रहरीमा दैनिक ८-१० वटा उजुरी पर्न थालेका छन् । दैनिक औसतमा तीन जना पक्राउ पर्दै आएका छन् । सबै उजुरीको अनुसन्धान गर्नसमेत नसक्ने अवस्थामा प्रहरी पुगेको छ । जसकारण उनीहरुले यसमा कानून संशोधनको माग गरेका छन् ।
विशेष सरकारी वकिल कार्यालयको तथ्याङकअनुसार साउनदेखि २० पुससम्म चेक बाउन्ससम्बन्धी ६ सय ३६ वटा मुद्दा उच्च अदालत, पाटनमा दायर भएको छ । १०-२० हजार रुपैयाँदेखि करोडौंका चेक बाउन्सका मुद्दा दायर भएको प्रहरी बताउँछन् । ‘अहिले चेक बाउन्सका मुद्दा थामिनसक्नु भएको’ विशेष सरकारी वकिल कार्यालयका प्रमुख रहेका सहन्यायाधिवक्ता मुरारी पौडेल भन्छन्, ‘दिनमै ३-४ वटा मुद्दा दायर गुर्नपर्ने अवस्था छ, यसले गर्दा हामीलाई कामको असाध्यै चाप बढेको छ, अन्य ठूला मुद्दामा ध्यान दिन सकिएको छैन ।’ मुद्दा बढेपछि उच्च अदालत पाटनले समेत बैंकिङ कसुर हेर्ने दुईवटा इजलाश थप गरेर चार वटा पु¥याएको छ ।
अदालतका एक कर्मचारीका अनुसार वाणिज्य इजलाशमा विगतमा बैंकिङ कसुरका मुद्दा महिनामा एउटा जस्तो आउने गर्दथ्यो । अहिले चेक बाउन्सलाई पनि बैंकिङ कसुरमा राखिएपछि मुद्दाको संख्या असाध्यै बढेको छ ।

दुई हजार मुद्दा पेन्डिङमा
महानगरीय प्रहरी परिसर, काठमाडौंमा मात्र हाल चेक बाउन्ससम्बन्धी २ हजारभन्दा उजुरी छन् । तर, एकैपटक धेरैलाई पक्राउ गर्न नसकिने भएकाले प्रहरीले धेरै मुद्दा थाँती राखेको छ । ‘हरेक दिन चेक बाउन्स मुद्दामा २० जना भन्दा कम थुनामा कहिल्यै हुँदैनन्,’ काठमाडौं परिसरका मुद्दा शाखाका डिएसपी मोहन थापा भन्छन्, ‘करिब १५ सय पेन्डिङमा छन्, ५÷६ सय मातहतका वृत्तहरुमा पठाइएको छ ।’
डिएसपी थापाका अनुसार धेरै जसो मुद्दाहरु बैदेशिक रोजगारसम्बन्धि ठगीसँग सम्बन्धित हुने गरेका छन् । विदेश पठाउन नसकेपछि चेकमार्फत पैसा फिर्ता दिने र तर खातामा पैसा नभएपछि पीडितहरु प्रहरीमा आउने गरेका छन् । त्यस्तै जग्गा ठगी, गाडी ठगीसँग पनि चेक बाउन्सका उजुरी सम्बन्धित हुने गरेको छ । अन्य व्यक्तिगत लेनदेनका विषयहरु चेक बाउन्सका रुपमा आउने गर्दछन् । चेक बाउन्सका उजुरीको संख्या दिन÷प्रतिदिन बढ्दै आएको डिएसपी थापाले बताए ।
चेक बाउन्समा विगतमा प्रहरीले पक्राउ गर्न नपाउने भएकाले धेरैले पैसा नभएपनि चेक दिएर झुक्याउनुलाई सामान्य ठान्ने गर्दछन् । तर, पक्राउ परेपछि थुनामा बस्नुका साथै त्यस बराबर जरिवाना समेत तिर्नुपर्ने हुन्छ । जसले यो मुद्दाले कतिपयको घरबास उठ्ने गरेको छ ।
किन बढे मुद्दा ?
दुई वर्षअघिसम्म चेक बाउन्स देवानी मुद्दा थियो । केही पहुँचवाला व्यक्तिहरुले मात्र प्रहरीलाई प्रभावमा पारेर चेक बाउन्समा बैंकिङ कसुर अनुसार मुद्दा चलाउथ्यो । प्रहरीले कहिले चेक बाउन्स मुद्दा हेर्ने त कहिले नेहर्ने गरीपछि विवाद समेत भएको थियो । पावरफूल व्यक्तिका मुद्दा मात्र प्रहरीले हेर्दथ्यो, धेरै उजुरीमा अदालत जान सुझाव दिएर फर्काउने गरेको थियो ।
कसैको हेर्ने कसैको नहेर्ने गरेपछि विवाद भयो । जून विवाद सर्वाेच्च पुग्यो र सर्वाेच्चले चेक बाउन्स व्यक्तिवादी मुद्दा हुने ठहर ग¥यो । त्यसपछि प्रहरीले चेक बाउन्स हेर्न छाड्यो ।
दुई वर्षअघि संसदले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ संशोधन ग¥यो । जसमा स्पष्ट रुपमा कसैले जानीजानी आफ्नो खातमा रकम नहुँदा पनि कसैलाई चेक दिएमा त्यो बैंकिङ कसुर हुने र त्यसमा तीन महिनासम्म सजाय हुने भनेर संशोधन गरियो । त्यसअघि खातामा पैसा नभएपनि बैंकका कर्मचारीले मिलेमतोमा कसैलाई भुक्तानी दिएकोमा अवस्थामा मात्र चेक बाउन्समा फौजदारी मुद्दा हुने उल्लेख थियो । बैंकरहरुकै दबाबमा त्यसरी ऐन संशोधन भएपछि चेक बाउन्स फौजदारी कसुर अन्र्तगत बैंकिङ कसुर मुद्दा भएको हो । प्रहरीले फौजदारी मुद्दा मात्र हेर्न पाउँछ ।

श्रीमानविरुद्ध श्रीमतीको मुद्दा
चेक बाउन्सका कतिपय मुद्दा परिवारभित्रै हुने गरेका छन् । ‘श्रीमानले श्रीमतीविरुद्ध मुद्दा हालेर समेत थुनाउका छन्,’ सहन्यायधीवक्ता पौडेल भन्छन्,‘आर्थिक लेनदेन धेरैजसो चिनजाकै व्यक्तिमा हुने भएकाले आफन्तविरुद्ध नै मुद्दा चल्ने गरेको छ ।’ कतिपय मुद्दा अभियुक्त नै पीडित जस्तो देखिने अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु बताउँछन् । कारोबारको क्रममा चेक लिने र पछि नगदै लिने र पुरानो चेकको आधारमा प्रतिशोध लिन मुद्दा दायर गर्ने प्रवृत्ती समेत देखिएको छ ।

जुवादेखि मिटरब्याजसम्म
चेक बाउन्सका कतिपय घटना अन्य अपराधसँग जोडिने गरेका छन् । सहन्यायधिवक्ता पौडेलका अनुसार जुवा खेलका लेददेनदेखि मिटर ब्याजको लेनदेन चेक बाउन्सका रुपमा दर्ता हुने गरेको छ ।
मिटरब्याजमा लगाउनेहरुले दिएको पैसा भन्दा दोब्बरको सुरुमै चेक कटाउने गर्दछन् । कतिपय अवस्थामा ब्याजको विवाद हुँदा थोरै मात्र तिर्छन् । त्यस्तो अवस्थामा उनीहरुले बैंकिङ कसुर मुद्दा लगाएर थुनाउने गर्दछन् ।
कतिपय सहकारीहरुले समेत ऋण उठाउन चेक बाउन्स मुद्दामा दायर गर्न थालेका छन् । कर्जा नतिरेपछि चेक दिनु्स् भनेर लिने र मुद्दा दायर गर्ने प्रवृत्ति छ ।

पीडितलाई न्याय पाउँनै गाह्रो
चेक बाउन्समा पीडितलाई बिगो भराई बिगो बराबर जरिवानाको सजाय समेत छन् । चेक बाउन्सका सबैजसो मुद्दामा उच्च अदालत पाटनले बिगो बराबरको धरौटीमा छाड्ने गरेको छ । धेरैजसो पीडितकै पक्षमा फैसला हुने गरेका छन् । तर, पीडितले न्याय पाउन भने गाह्रो छ ।
धरौटी वापत राखेको रकम जरिवानाका रुपमा राज्यको कोषमा जम्मा हुन्छ । तर, पीडितलाई भराउने हकमा भने अभियुक्तको सम्पति खोज्ने प्रक्रिया सुरु हुन्छ । जुन वर्षौसम्म लम्बिने गरेको छ ।
मुख्य कुरा चेक बाउन्स व्यक्तिगत लेनदेन सम्बन्धि विषय भएकाले यसलाई फौजदारी मुद्दाबाट हटाउनुपर्ने अनुसन्धान गर्ने अधिकारीहरु बताउँछन् । व्यक्तिगत लेनदेनको विषय देवानी प्रकृतीको मुद्दा हुने भएकाले बैंकिङ कसुरसम्बन्धि ऐन सशोधनका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्