धरान, २० माघ । आफ्नो आमाको घर बनाउने बहानामा आफँै जंगल पसेर सखुवाको रुख काटन लगाएर विवादमा आएका धरान उपमहानगर पालिकाका मेयर तिलक राईले पुनः धरान–२० स्थित ओशोपार्कभित्रको ३ थान रुख काटन लगाएर दोस्रो रुख काण्ड मच्चाएका छन् । धरान–२० स्थित सर्दुखोलाको ओशो महापरी निर्माण ध्यान केन्द्रको हाताभित्र रहेको दुईवटा मलेसियन सालको रुख र एक थान सिरीषको रुख काटेर नगरप्रमुख राई पुनः विवादमा परेका छन् ।

धरान–२० स्थित सर्दु जलाधार क्षेत्रभित्र बनेको विपी पार्क, रक गार्डेन, ओशो आश्रम हेर्न आउने पर्यटकको संख्या बढ्न थालेपछि त्यहाँ सार्वजनिक शौचालयको आवश्यकता थियो । यसैबीच धरानकी उपमेयर मन्जु भण्डारीको सक्रियतामा खानेपानी मन्त्रालयले ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोषअन्तर्गत धरानमा पनि दुई वटा सार्वजनिक शौचालय निर्माण गरिदिने भएको छ ।
मन्त्रालयले सो शौचालयमध्ये एउटा धरान–१२ को पब्लिक हाइस्कुलको मैदान र धरान–१३ मा निर्माण गर्न भनी ठेक्का पनि लगाइसकेको छ । ठेकेदार कम्पनीले धरान–१३ को कुन स्थानमा बनाउने भनी सोध्दा नगरप्रमुख राईले ओशो आश्रमको हाताभित्र रहेको पुरानो शौचालयसँगै बनाउने आदेश दिएका थिए । ठेकेदारले पनि मेयरको आदेशबाहेक अरु कोही सरोकारवाला निकायसँग सोधपुछ नगरी सो रुख काट्न थालेपछि धरान वडा नं २० का वडाध्यक्षले आफ्नो वडाभित्रको रुखपात मासेर जलाधार क्षेत्रमा शौचालय नबनाउन नगरपालिकालाई पत्राचार गरेका थिए । ऐलानी वन क्षेत्रभित्रको कुनै पनि रुख काट्नुपरे जिल्ला वन कार्यालयसँग अनिवार्य स्विकृति लिनुपर्छ । तर, अहिलेसम्म हामीसँग नगरपालिकाले सम्पर्क गरेको छैन भनी जिल्ला वन कार्यालयका अधिकृतहरुले बताएका छन् । शौचालय निर्माणस्थलमा दुई मलेसियन सालको रुखबाहेक एउटा रातो सिरिषको रुख पनि छ, जसलाई ५ वर्षअघि विपी पार्कको शिलान्यास गर्न आउँदा नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र रामचन्द्र पौडेलले रोपेका थिए ।
आश्रमकै संरक्षणमा हुर्किएका ती रुख पनि काट्नुपर्ने, धरानवासीले खानेपानीको मुहान क्षेत्रको छेउमा पनि सार्वजनिक शौचालय वातावरणमैत्री हुन नसक्ने भएकाले सो स्थानको विकल्प खोज्न नगरप्रमुखलाई पत्रचार पनि गरेको थियो । तर नगरप्रमुखले एकोहोरोरुपमा सोही स्थानमा बनाउने ढिपी कसेपछि धरान–१३ का वडाध्यक्षलगायत वातावरणवादी पनि असन्तुष्ट रहेका थिए । प्राविधिक तथा स्थानीयले दिएको सल्लाहअनुसार पुलदेखि पूर्वमा पर्ने टेम्पो, गाडी स्टयाण्ड नजिकको खाली जमिनमा शौचालय बनाउन उपयुक्त हुने बताएका थिए ।
पहिलो काण्ड सरकारी वकिलकोमा थन्कियो
नगरप्रमुख राईले आफ्नो घर बनाउन अवैधरुपमा रुख काट्न निर्देशन दिएको भनिएको चर्चित पहिलो सखुवाको रुख काण्ड अहिले सुनसरीको सरकारी वकिलको कार्यालयमा पुगेर थन्किएको छ ।
नेपाली काँग्रेसको रुख चुनाव चिन्ह लिएर डेढ वर्षअघि सम्पन्न भएको उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा जितेका तिलक राईले भदौ १३ गते धरान २० स्थित भालुढुंगा सामुदायिक वनभित्रको एक थान काचो सखुवाको रुख काट्न लगाएका थिए । वन कार्यालय र सामुदायिक वनको अनुमतिबिना रुख ढालेको अभियोगमा इलाका वन कार्यालय धरानले धरान–११ बस्ने चार मजदुर र सामुदायिक वनका कोषाध्यक्ष भीम बस्नेतलाई पक्राउ गरी जमानतमा छाडी पनि सकेको छ । तर सो रुख काट्न निर्देशन दिएको आरोप लागेका मेयर राईलाई भने वनले कुनै सोधपुछसम्म गर्न सकेको छैन । जबकि सो रुख काट्न लगाउने नगरप्रमुख राई र अन्य पाँच जनाको नाममा सामुदायिक वनका अध्यक्ष बलबहादुर तामाङले तत्कालै इलाका वन कार्यलय धरानलाई किटानी जाहेरी दिएका थिए ।
सो रुख काण्डको छानविन गरी प्रतिवेदन बुझाउन जिल्ला वन कार्यलय सुनसरीले विष्णुपदुका क्षेत्रका वन अधिकृत राजेन्द्र यादवलाई अख्तियारी दिएको थियो । यादवले एक महिना लगाएर प्रतिवेदन सरकारी वकिलको कार्यलयमा बुझाएका छन् । तर सरकारी वकिलले सो प्रतिवेदनमा केही प्रमाणहरु नपुग भएकाले प्रमाण पु¥याएर पुनः पेश गर्न इलाका वन कार्यालयमा फाइल पठाएको थियो । तर अभियुक्तहरुलाई बचाउ गर्ने उद्देश्यले वकिल कार्यालयले चार वटा प्रमाण जुटाउन भनिएको थियो ।
सो चारवटा प्रमाणहरुमा रुख काट्न प्रयोग गरिएको हतियार (स्वचालित आरा), नगरप्रमुखले आफ्नी आमा मनमाया राईको नाममा सामुदायिक वनमा पेश गरेको निवेदन, काटिएका रुखको अडियो भिडियो तस्वीरहरु, आफुले रुख काटेर गल्ती गरेको स्वीकार गर्दै सामुदायिक वनका पदाधिकारीहरुसमक्ष गाउँकै एक घरमा बसेर नगरप्रमुखले माफी मागेको अडियो रेकर्ड आदि मागिएको थियो । तर ती चारमध्ये काटिएको रुखको तस्वीरबाहेक वन कार्यालयले अरु प्रमाणहरु जुटाउन नसकेको कुरा वनका कर्मचारीहरु बताउँछन । सामुदायिक वनमा दिएको निवेदन अध्यक्ष तामाङले आफ्नो सहसचिवलाई राख्न दिएका थिए । तर, उनले आफूसँग पत्र नभएको भनी लुकाएका छन् । यसैगरी वनले रुख काट्ने ४ मजदुर पक्राउ परे पनि तत्कालै स्वचालित आरा बरामद गर्न नसकेको भनी सो प्रमाण पनि लुकाउन सफल भएका छन् ।
यसैगरी नगरप्रमुख राईले वनका पदाधिकारीसमक्ष गल्ती स्वीकार गरी बोलेको अडियो रेकर्ड सर्वप्रथम धरानका नेकपाका नेताहरुले फेसबुकमा हालेर भाइरल बनाएका थिए । सोही रेकर्ड धरानका सबै अनलाइन पत्रिका तथा एफएम र टिभीहरुले प्रसारण गरेका थिए । ती सबै रेकर्डहरु अहिले रातारात हराएका छन् । अझ सो रेकर्डलाई सामाजिक अभियन्ताको रुपमा देखापरेका हर्क साम्पाङ नामका व्यक्तिले इलाका वन कार्यालय धरानमा नै गएर धर्ना, जुलस गरी ज्ञापनपत्रसहित बुझाएका थिए । सोही रेकर्ड वन कार्यालयले सरकारी वकिलसमक्ष बुझाएको बताउँछन् । तर सरकारी वकिलले भने सो रेकर्ड कसले टेप गरेको सो व्यक्तिको वयानसहित पेश गर्न आदेश दिएपछि वनलाई अप्ठ्यारो परेको बताउँछन् । किनभने रेकर्ड गर्ने मान्छे उपस्थित भएमा उसले अनुमति नलिई रेकर्ड गरेको अभियोग लगाएर उल्टै पक्राउ गर्ने सरकारी वकिल कार्यालयको षड्यन्त्र भएको गाउँलेहरु बताउँछन् । यसरी यो रुख काण्डमा नेपाली काँग्रेसका नगरप्रमुखलाई बचाउन नेकपाका स्थानीय तथा प्रदेशका नेताहरु लागेर सबैलाई छक्क पारेका छन् । हाल नेपाली काँग्रेसका सानाठूला सबै तहका नेता कार्यकर्ताले सरकारी वकिल कार्यालयलाई ठूलो दबाब दिएपछि यी लुकाइएका प्रमाणहरु फेला नपरेको भनी मुद्दालाई कमजोर बनाइएको छ ।












