Logo
Logo

कवित : बाटाहरू


के आर पाण्डुलिपि


कसरी निर्क्यौल गरियो होला,
पैताला यहीभित्र राख्नु पर्छ भनेर ?
कसले भन्यो होला,
पैतालालाई दौडाउने रेखालाई
बाटो नाम दिऊ भनेर ?
अँ, कसले बनायो होला,
पहिलो पल्ट बाटो ?
के सोचेर बनायो होला,
त्यो बाटो ?

कस्ले राख्यो होला पहिलो पाउ,
त्यो बाटोमा ?
बाटो बनाउने ले या बटुवाले ?
कसरी तोक्यो होला,
त्यो बाटोको आकार र सिमाना ?
एक बाटो हुँदा हुँदै,
किन बने अरु बाटो ?

एक भु-मण्डलमा भएर पनि
एकै ठाउँमा जोडिने भए पनि
किन यति धेरै फरक फरक यी बाटो ?
यो ब्रह्माण्डमा किन यति धेरै बाटोहरू ?
सिद्धान्तको बाटो
राजनीतिको बाटो
शिक्षा र अशिक्षाको बाटो
बर्गको बाटो
जातको बाटो
रङ्गको बाटो
रगतको बाटो
पाप र धर्मको बाटो
अक्ष र कक्षको बाटो
बाटै बाटाहरू
यी सबै बाटा हुँदै हिडेका बटुवाहरू
गन्तव्यसम्म पुगेकि पुगेनन् होला ?
यो बाटोमा हिड्ने यात्रीको खुट्टा,
बाटोको धुलोले,
मेहन्दी लगायो होला कि लगाएन होला ?
यो बाटो हुँदै सिंहासनमा पुगेका
बटुवाहरूले बाटो सम्झिन्छन् होला कि सम्झिदैनन् होला ?

बाटोको नामबाट लाभ लिनेहरुलाई
बाटोले सराप्छ कि सराप्दैन होला ?

बाटो हुँदैन थियो भने त,
पैतला बन्दि हुने रहेछन् ।
ब्रह्माण्ड स्थिर हुने रहे छ ।

प्रतिक्रिया दिनुहोस्