भक्तपुर । पठन संस्कृतिको प्रवर्द्धन तथा बालबालिका र विद्यार्थीमा अध्ययन गर्ने बानी विकास गर्ने उद्देश्यले भक्तपुरमा आयोजना गरिएको ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ को भव्य उद्घाटन भएको छ।

रोटरी क्लब अफ भक्तपुरको आयोजनामा भक्तपुर दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रदर्शनीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले गरे।
कार्यक्रमको सभापतित्व रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष दशरथ प्रजापतिले गरेका थिए। कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का रिजन १ चेयर रोटेरियन श्री शंकर प्रधानाङ्ग तथा विद्यालयका प्रधानाध्यापक न्हुच्छेभक्त खटाखोलगायत रोटरीका विभिन्न पदाधिकारी, शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।
कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न विधा र भाषाका पुस्तकका स्टल राखिएका छन्। साथै पुस्तक विमोचन, लेखकसँग प्रत्यक्ष अन्तरक्रिया, कविता तथा गजल वाचन, चित्रकला प्रतियोगिता र समसामयिक विषयमा प्यानल छलफललगायत कार्यक्रम समावेश गरिएका छन्। प्रदर्शनीमा परम्परागत नेवारी परिकारका स्टलसमेत राखिएका छन्।
प्रदर्शनीलाई शैक्षिक, साहित्यिक तथा सांस्कृतिक आदानप्रदानको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य आयोजकले लिएको छ। विभिन्न विद्यालय, कलेज, पुस्तकालय तथा साहित्यकारको सहभागिताले विद्यार्थी र नयाँ पुस्तामा पठन संस्कृतिको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा विद्यार्थी, शिक्षक, अभिभावक, साहित्यप्रेमी तथा सर्वसाधारणलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ।















