काठमाडौं । अमेरिकाले नेपाली सेनालाई १५ करोड अमेरिकी डलर (२२ अर्ब ८० करोड रुपैयाँ) बराबरको हेलिकोप्टर, ड्रोन र डुंगाहरू अनुदानमा उपलब्ध गराउने भएको छ ।

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले बिहीबार प्रधानसेनापति अशोकराज सिग्देलसँगको भेटमा सो जानकारी दिएकी हुन् ।
“कार्यवाहक राजदूत बोल्डिनले नेपालको विपद् प्रतिकार्य क्षमता सुदृढ गर्न अमेरिकाले १५ करोड अमेरिकी डलरभन्दा बढी मूल्य बराबरका अमेरिकामा निर्मित हेलिकोप्टर, ड्रोन र नदीमा चल्ने डुंगाहरू उपलब्ध गराइरहेको कुरा उल्लेख गर्नुभयो,” काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकाले ८ वटा वेल हेलिकोप्टर, केही उच्च क्षमताका ड्रोन र डुंगाहरू नेपाललाई आउँदो वर्षबाट उपलब्ध गराउने छ । सन् २०२७ मा दुईवटा हेलिकोप्टर नेपाल आइपुग्ने छन् । बाँकी ६ वटा हेलिकोप्टर सन् २०२९ सम्म नेपाल पठाउने तयारी भइरहेको छ ।
“यी सामग्रीहरू अर्को वर्षदेखि प्राप्त हुन थाल्नेछन् । यसअघि गत शरद ऋतुमा अमेरिकाले ३ करोड ८० लाख डलर मूल्य बराबरका ‘एम२८ स्काईट्रक’ विमानहरू सहयोगस्वरूप प्रदान गरेको थियो, जसले राहत कार्यहरूमा मद्दत पुर्याउँदै आएका छन्,” अमेरिकी दूतावासले भनेको छ ।
प्रधानसेनापति सिग्देलसँगको भेटमा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि नेपाललाई पुनर्स्थापनामा सघाउ पुर्याइरहेको अमेरिकी विपद् पूर्वतयारी र प्रतिकार्य सहयोगका विषयमा छलफल भएको थियो ।
कार्यवाहक राजदूत बोल्डिनले भेटमा विपद्मा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै बेपत्ता भएका नेपाली सेनाका जवानहरूका परिवारजनप्रति सहानुभूति प्रकट गरेकी थिइन् ।
“अमेरिकी प्रविधि, उपकरण र विज्ञतामार्फत, अमेरिकाले नेपाललाई खोज तथा उद्धार, घाइतेहरूको हवाई उद्धार र आपत्कालीन प्रतिकार्य क्षमता सुदृढ गर्न सघाउँदै आएको छ,” अमेरिकी दूतावासले भनेको छ ।















