Logo
Logo

माघ २८ गते काठमाडौंमा नेकपा प्रचण्ड–माधव प्रदर्शन (भिडियोसहित)


- दृष्टि संवाददाता

756
Shares

काठमाडौं, २७ माघ । प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध संघर्षमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव) समूहले माघ २८ गते काठमाडौंमा जनसभा तथा विरोध प्रदर्शन गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि बुटवल, विराटनगर र धनगढीमा प्रदर्शन गरेको नेकपाले काठमाडौंमा समेत प्रदर्शन गर्न लागेको हो । प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपालले भिडियो सन्देश जारी गरेका छन् ।

भिडियो सन्देशमा अध्यक्ष प्रचण्डले भन्नु भएको छ– ‘हाम्रो विरोध प्रदर्शन प्रतिगनमलाई परास्त गर्दै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने एउटा अभियान हो । म यो ऐतिहासिक घडीमा सम्पूर्ण नेपाली जनसमुदायसँग हामी सबैले लडेर प्राप्त गरेको उपलब्धिको रक्षा गर्नका निम्ति काठमाडौंको विरोध प्रदर्शनमा सहभागी हुन र प्रतिगमनलाई परास्त गर्न अपिल गर्न चाहन्छु ।’

नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रतिगनको षड्यन्त्रहरुलाई परास्त गर्न सभा आयोजना गरिएको बताउनु भएको छ । भिडियो सन्देशमार्फत अध्यक्ष नेपालले भन्नुभयो– ‘समावेशी शासन प्रणलीलाई सुदृढ बनाउनका लागि, देशमा व्यप्त भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती जस्ता कुशासनका विरुद्धमा प्रदर्शन गर्न लागिएको हो । यो अभियानमा सबै मिलेर लाग्नु पर्छ ।’

दुई नेकपाबीच शक्ति प्रदर्शनको प्रतिस्पर्धा चलिरहेको बेला प्रचण्ड–माधव समूहले आयोजना गरेको सभामा जनसहभागीता कस्तो रहला भन्ने आम चासोको बिषय बनेको छ । ओली समूहले गत २३ गते नारायणहिटी राजदरबार अगाडि आयोजना गरेको सहभागी राम्रै जनसहभागिता रहेकाले त्यो भन्दा ठूलो प्रदर्शन गर्नुपर्ने प्रचण्ड–माधव समूहलाई दवाव रहेको छ । सोहि अनुसार प्रचण्ड–माधव समूहले तयारी गरिरहेको छ । माघ २८ गतेको प्रदर्शनका काठमाडौं आसपालका जिल्लाबाट नेता कार्यकर्ता सहभागी हुने बताइएको छ ।

तर, यस्ता सभाहरु बीच बाटोमा आयोजना गर्दा सवारी साधन र सर्वसाधारण जनतालाई दुःख, कष्ट भएको छ । जनताको यो दुःख कष्टलाई विचार गरेर राजनीतिक दलहरुले खुलामञ्च, वसन्तपुर अथवा अन्य कुनै ठाउँमा सभा आयोजना गर्दा राम्रो हुने थियो । काठमाडौंको खुलामञ्चलाई प्रयोग गर्दा कसैलाई पनि बाधा पर्दैन । तर, खुलामञ्च अतिक्रमित भएको छ । त्यसलाई व्यवस्थित बनाउन राजनीतिक दलका नेताहरुको ध्यान पुग्नुपर्छ ।

 

विरोध प्रदर्शनका लागि नेकपाले तयार पारेको भिडियो सामग्री हेर्नुहोस–

प्रतिक्रिया दिनुहोस्