Logo
Logo

१८ किलो सुन तस्करीमा प्रहरी नै संलग्न ?


- दृष्टि न्युज/संवाददाता



कञ्चनपुर, ३ फागुन ।
कञ्चनपुरको दक्षिणी पुनर्वास क्षेत्रस्थित एक स्थानीयको घरभित्र खाल्डोमा लुकाएर राखेको अवस्थामा १८ किलो सुन बरामद भएको १५ घण्टा नबित्दै जिल्लाको उत्तरी भेग शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट गएराति प्रहरीले ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ । सो तस्करीमा प्रहरी नै संलग्न रहेको खुलेको छ ।

सो प्रकरणमा पक्राउ परेका तिरुवा दाजुभाई ३३ वर्षीय लक्ष्मण तिरुवा र २८ वर्षीय सुरज तिरुवालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग कोहलपुर पठाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता कृष्णराज ओझाले बरामद गरिएको सुनसहित पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि शुक्रबार कोहलपुर पठाएको बताए ।
पुनर्वासबाट सुन बरामद भएको घर जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान सुरज तिरुवाको ससुराली हो । सुन तस्करीमा प्रहरी जवान सुरज तिरुवाको संलग्नता रहेको प्रहरीको दावी छ । घरमा राख्दा पोल खुल्ने डरले सुरजले पुनर्वासमा ससुरालीमा लुकाएको तथ्य खुलेको प्रहरीले बताएको छ ।

सुरजका दाजु लक्ष्मण भारतमा गाडी चलाउँदै आएका छन् । लक्ष्मणले भारतबाट चोरी गरेर उक्त सुन नेपाल ल्याएको र केही सुन ससुरालीमा, केही सुन घरमै राखेर बिक्री गर्नका लागि बार्गे्निङ गर्दै हिँडेपछि पक्राउ गरेको जनाएको छ ।

बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पुनर्वास नगरपालिका–२ दशरत बस्तीका शंकर विक भनिने भरतलाल विकको घरबाट सुन बरामद गरेको १५ घण्टापछि शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका लक्ष्मण तिरुवाको घरबाट ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो।

विकको घरबाट बिहीबार दिउँसो ११ बजेतिर र तिरुवाको घरबाट गएराति १ बजेतिर सुन बरामद गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुवेर सिंह कडायतले लक्ष्मण तिरुवाको घरबाट राती नै सुन बरामद गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको बताए । केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी सुदिप गिरी नेतृत्वको टोलीले २३ किलो ६ सय ग्राम सुन बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्