मोरङ, २८ माघ । मोरङको बुढीखोलास्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर संरचना जोखिममा परेको छ । वर्षायाममा खोलामा आउने बाढीका कारण कटान तीव्र बनेपछि खोलाको पुल र नहर जोखिममा परेको आयोजनाले जनाएको छ ।
खोलाको पूर्व र पश्चिम तथा दक्षिणतर्फबाट तीव्रगतिमा कटान भइरहेको छ भने यसलाई बचाउन आयोजनाले नदीको पानी खस्ने ठाउँमा सिमेन्ट, कङ्क्रिट ब्लक र ढुङ्गासहितको तारजाली लगाउनुपर्ने आवश्यकता छ ।

बुढीखोला नहरको संरचना १६५ मिटर लम्बाइको एक्वाडक्ट कम ब्रिज हो । खोला दिनप्रतिदिन गहिरिँदै जानाले पनि नहर संरचनाको जोखिम बढेको हो । यदि यो संरचना नदी कटानका कारणले भत्कियो भने मोरङमा रहेका नौवटै शाखा नहरहरु छुरछुरिया, हरिनगरा, विराटनगर, वरियाती, नयाँपट्टि, आमझोडा, रञ्जनी, चिस्याङ र झमनपुरमा आश्रित कृषक सिँचाइबाट वञ्चित हुन्छन् ।
तीन वर्ष पहिले मोरङको लोहन्द्राखोलास्थित नहरको संरचनालाई बाढीले बगाएपछि छ शाखामा आश्रित किसान अहिले पनि आकाशेपानीको भरमा खेती गर्न बाध्य छन् । यो संरचना बनाउन आयोजनाले रु २९ करोड ९७ लाख ५६ हजारमा ठेक्का लगाइ काम भइरहेको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिए ।
बुढीखोलामा अहिलेको जस्तै कटान लोहन्द्राखोलामा पनि देखिएको थियो तर आवश्यक बजेट अभावमा तत्काल काम गर्न नसकिएपछि नहरको संरचनालाई बाढीले बगायो भने त्यस क्षेत्रका करिब १० हेक्टर जग्गामा धानखेतीको समयमा किसानले पानीका लागि सास्ती व्यहोर्नुपरेको प्रमुख यादवले बताए।
उनले कुनै पनि समस्यालाई तत्कालै समाधानको उपाय गर्नुपर्नेमा जोड दिँदै सिँचाइजस्तो संवेदनशील क्षेत्रमा विभागले समयमै बजेट विनियोजन गरेर समस्या समाधानतर्फ लाग्नुपर्ने धारणा राखे । उनले लोहन्द्राखोलाको नहर यसै वर्ष सञ्चालन गर्न रु आठ करोड आवश्यक भन्दै अन्यथा बनेको संरचनालाई आउने वर्षातमा हुने बाढीले जोखिममा पार्न सक्ने बताए ।
लोहन्द्राखोलाबाट पूर्वको बुढीखोलामा रहेको पुरानो नहरलाई बचाउन विभागले तत्काल रु एक करोड ५० लाख विनियोजन गर्नुपर्ने अयोजनाका डिभिजनल इञ्जिनीयर रमेशलाल कर्णले जानकारी दिए ।
उनका अनुसार बुढीखोलाको संरचनालाई जोगाउन तत्काल विभागबाट विनियोजित बजेट रु ३४ लाखको बोलपत्र आह्वान भइसकेको छ भने यस वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार रु ६२ लाख बजेट विनियोजन भई बोलपत्र आह्वान हुने अवस्थामा छ । उनले कुनै कारणले संरचना भत्किए मोरङमा सिञ्चित हुने २८ हजार अर्थात् ४२ हजार बिघा खेतमा सिँचाइ गर्न समस्या हुने बताए।
विराटनगर शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र माझीले बुढीखोलाको संरचना भत्कियो भने मोरङको कुनै पनि शाखा नहरमा पानी नजाने र यसबाट किसानलाई मात्र नभई राज्यलाई पनि धेरै नोक्सानी हुने बताए ।
विभागले समयमै यसको उपचार खोज्नुपर्ने उनको भनाइ छ । हरिनगरा शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष सुजित माझीले धेरै पहिलेदेखि नै बुढीखोलाको संरचना बचाउनका लागि आवाज उठाइरहे पनि विभागले ध्यान नदिएको आरोप लगाए ।












