Logo
Logo

चन्दननाथ नगरपालिकाका सबै वडामा स्वास्थ्य संस्थाको पहुँच पुग्याे


दृष्टि संवाददाता


जुम्ला, ३० माघ । जुम्लाको चन्दननाथ नगरपालिकाका सबै वडामा स्वास्थ्य संस्थाको पहुँच पुगेको छ । नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी नगरपालिकाले १० वटै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन सफल भएको छ । स्थानीय सरकार सञ्चालन भएको साढे ३ वर्षमै १० वटै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुगेको हो ।

स्वास्थ्य अधिकार सुनिश्चित गर्ने, गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने अभियानकै क्रममा बुधबार नगरका ४ वटा वडामा एकैसाथ आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरियो । नगरप्रमुख कान्तिका सेजुवालले २, ३, ६ र ९ नम्बर वडामा एकैसाथ आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गरेकी हुन् ।

नगरपालिकाभित्रका वडा नम्बर ७, ८ र १० वडामा संघीय संरचनाअघि नै स्वास्थ्य चौकी स्थापना भएका छन् भने ४ नम्बर वडामा सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा छ । नगरपालिकाको वडा नम्बर १ मा स्वास्थ्य केन्द्र उद्घाटन गर्न बाँकी छ । चन्दननाथ कर्णालीकै पहिलो आधारभूत स्वास्थ्य सेवायुक्त नगरसमेत बनेको नगरप्रमुख सेजुवालले बताइन् ।

उनले भनिन्, ‘आधारभूत स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार हो । त्यसबाट कोही वञ्चित नहुन् भन्ने लक्ष्य राखिएको छ । गाउँमा गर्भवती महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपांग व्यक्तिको राहतका लागि घरदैलोमै आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएका हौँ ।’

अहिले ५ वटै स्वास्थ्य केन्द्र भाडाको घरमा सञ्चालन गरिएका छन् । चालू आर्थिक वर्ष अन्त्यसम्म आफ्नै भवनबाट सेवा दिने गरी काम अघि बढिरहेको नगरप्रमुख सेजुवालको भनाइ छ । ५ नम्बर वडाबाहेक नगरका सबै वडामा स्वास्थ्य सेवाको पहुँच पुगेको छ ।

चन्दननाथका ४ हजार २ सय ७१ घरधुरीका २० हजार ८ सय ८४ जना नागरिक आधारभूत स्वास्थ्य सेवाको पुहँचमा पुगेका छन् । नगरपालिकाले ५ वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, ४ वडामा स्वास्थ्य चौकी, १ वडामा सहरी स्वास्थ्य क्लिनिक र ५ नम्बर वडामा प्रतिष्ठान गरेर १० वटै वडाका ४ हजार २ सय घरधुरीका २० हजार ८ सय बढी नागरिक प्रत्यक्ष रूपमा स्वास्थ्य सेवाको पहुँचमा पुगेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्