Logo
Logo

प्रधानमन्त्री हटाउन खोजेपछि प्रतिनिधिसभा विघटन : ऊर्जामन्त्री रायमाझी


दृष्टि संवाददाता


रुपन्देही, ३० माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जनसङ्गठन इञ्चार्ज टोपबहादुर रायमाझीले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई एकाएक हटाउन खोज्दा प्रतिनिधिसभा विघटन गर्ने अवस्था आएको बताएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रायमाझीले प्रेस सङ्गठन नेपाल लुम्बिनी प्रदेश कमिटीले शुक्रबार बुटवलमा आयोजना गरेको प्रदेश भेलाको उद्घाटन गर्दै पार्टी एकताको म्याण्डेटअनुसार सबै निर्णय सहमतिमा गर्ने भनिए पनि दाहाल–नेपाल समूहले पदीय लोभका कारण सहमतिविपरीत कार्यहरु गरेर सरकालाई अप्ठ्यारोमा पार्ने काम गरेपछि प्रधानमन्त्रीले बाध्य भएर प्रतिनिधिसभा विघटन गरी जनतामा जाने निर्णय गरेको धारणा राखे ।

उनले विपक्षीसँग मिलेर आफ्नै पार्टीका नेताले प्रधानमन्त्रीलाई प्रहार गर्ने काम भएको बताउँदै त्यस्ता गलत क्रियाकलापले नेकपाको दाहाल–नेपाल समूहलाई सडकमा पु¥याएको बताए । । ‘मैले उहाँहरुका गलत क्रियाकलापलाई नजिकबाट हेरेको छु । धेरैपटक सचेतसमेत गराएको छु तर मान्नुभएन”, उहाँले भन्नुभयो, “कि आफैँ जान्नुपथ्र्यो, कि भनेको मान्नुपथ्र्यो, अब सडकमा चिच्याएर केही हुन्न ।’

दाहाल–नेपाल समूहले सरकारमा रहेका केही मन्त्री आफ्नो समूहमा आउँदैछन् भनेर हल्ला फिजाएकामा आपत्ति जनाउँदै नेकपाका स्थायी कमिटी सदस्य रायमाझीले भ्रममा नपर्न आग्रह समेत गरे ।

पछिल्लो समय नेपाली कांग्रेससहितका दलहरु चुनावको तयारीमा लागेको तर दाहाल–नेपाल समूह सडकमै अल्मलिएको बताउँदै उनले अब सडकमा अलमलिने समय नभएकाले मूल पार्टीमा जोडिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्