Logo
Logo
भागरथी हत्या प्रकरण

हत्या अभियोग ठहर भएपनि नाबालक भएकाले आधा मात्र सजाय हुने


प्रदीपराज दाहाल


काठमाडौं, ५ फागुन । बैतडीको दाेगडाकेदार गाउँपालिकाका १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथीको हत्या भएको १३औं दिनमा प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा भागरथी पढ्ने सनातन माविमै अध्ययनरत विद्यार्थी दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरेको हो । दिनेश र भागरथी छिमेकी समेत हुन् । हत्या अभियोग लागेका दिनेशलाई म्याद थप गरी अनुसन्धान बढाइएको छ ।

के हो घटना ?

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्ट सधैं झैं माघ २१ गते विद्यालय गइन् ।

परिवार सधैं छोरी हाँस्दै घर फर्कने आशामा थिए । घरमा एक्लै रहेकी आमालाई सघाउन साथीको भीडबाट छुट्टिएर भागरथी जंगलको बाटोहुँदै घर हिँडिन् ।

तर उनी घर पुगेनन् । बेलैमा घर फर्कने छोरी समय घर्कीसक्दा पनि नफर्केपछि खैलाबैला मच्चियो । छोरी घर नफर्केपछि साथी संगी सबैलाई सोधियो, जतातै खोजियो तर कतै भेटिएनन् ।

भागरथी खोज्दा खोज्दै रात बित्यो । भोली बिहानैबाट खोजी जारी रह्यो । साँझपख जंगलको बाटोभन्दा करिब ७० मिटर तल भागरथी भेटियो तर प्राण उडिसकेको थियो ।

त्यति मात्र होइन, उनको शव क्षतविक्षत थियो । लुगा च्यातिएको थियो, अवस्था अर्धनग्न र शरीरमा जातातै चोट ! एक महिना अगाडी मात्र भागरीको बुबाले संसार छोडेका थिए ।

बुबाको मृतुले बगेका आँशुहरु सुक्न नपाउँदै भागरथीको हत्या भयो । भागरथीको परिवारले भोगीरहेको पीडा शब्दमा बयान गरेर सकिन्न ।

कसरी भयो हत्या ?

टिफिनको समयमा भलिबल खेलेर अभियुक्त विद्यालयबाट बाहिरिन्छन् । उनी भागरथीभन्दा अगाडी नै घटनास्थल पुग्छन् ।

भागरथीको प्रतीक्षामा बस्छन् । हतार–हतार घर हिडेकी भागरती त्यहाँ पुग्छन् । योजनासहित बसेका अभियुक्त भागरथीलाई धक्का दिएर लडाउँछन् ।

अभियुक्तले धकेलेपछि भागरथी ७० मिटिर तल पुग्छिन् । झम्टिदै अभियुक्त भागरथी ढलेको ठाउँ पुग्छन् । र, क्रुरतापूर्वक घाँटी थिचेर हत्या गर्छन् ।
अभियुक्तले भागरथीको मोबाइल लिन्छन् र बाटो लाग्छन् । भागरथीको मोबाइल लिएका अभियुक्त फरक बाटो हुँदै उकालो लाग्छन् ।

भागरथीको मोबाइलको ‘कल लग’ डिलिट गर्छन्, ब्याट्री निकालेर मोबाइल त्यतै फालिदिन्छन् । र, करिब ८ सय मिटर उत्तरपूर्व अर्थात् खोचलेक बजार फर्कन्छन् । त्यसपछिका दिनमा भागरथीको हत्यारालाई कारवाही गर भन्दै आन्दोलनमा सहभागी हुन्छन् ।
(अभियुक्तले प्रहरी समक्ष दिएको साविती बयानको सार)

कसरी पक्राउ परे अभियुक्त ?

माघ २२ गते भागरथीको शव भेटिएसँगै प्रहरीले अनुसन्धान थाल्यो । घटनास्थलमा अपराधीले छोडेका प्रमाण खोज्न प्रहरीलाई हम्मे–सम्मे भयो । अनेक प्रयत्न गर्दा पनि हत्यारा फेला नपरेपछि प्रहरीले ‘तालिम प्राप्त कुकुर प्रयोग गरिएले अब छिट्टै हत्यारा पत्ता लाग्ने’ भन्दै हल्ला फिजाउँछ ।

प्रहरीले हल्ला फैलाएछि सबै जम्मा भए । तर, एक युवा त्यहाँ देखिएनन् । त्यसपछि प्रहरीको अनुसन्धान नजिक पुग्यो । भेलामा नदेखिएका व्यक्तिसँग प्रहरीले केरकार थाल्यो । केरकारको क्रममा ति व्यक्तिले दिएको वयान र वास्ताविकतामा तादम्यता नभेटेपछि प्रहरीले निगरानी बढायो ।

छिटो रिसाउने आक्रामक स्वभाव भएका ति व्यक्तिप्रति प्रहरीको आशंका झनै बढ्यो । फागुन ४ गते दिनभर कार्यालयमा राखेर साँझ ७ बजेबाट अनुसन्धान टोलीले केरकार थाल्यो ।

दुई घण्टासम्म केरकार गरेपछि बल्ल उनले मुख खोले– ‘हो मैले नै हत्या गरेको हुँ ।’ ति व्यक्ति थिए– भारगथीकै छिमेकी दिनेश भट्ट ।

बलात्कार भयो या भएन ?

भागरथी र निर्मला पन्त हत्या प्रकण लगभग उस्तै घटना हुन् । हत्याको प्रकृति पनि उस्तै छ । सुरुमा निर्मला जस्तै भागरथीको पनि बलात्कारपछि हत्या गरिएको खबरहरु सार्वजनिक भयो ।

प्रहरीको अनुसन्धान पनि सोही अनुसार जारी छ । तर, साविती बयानको क्रममा अभियुक्त बलात्कारबारे मौन रहे ।

अभियुक्तले बुबाको पालाको बदला लिएको मात्र बयान दिए । अपराध अनुसन्धा विज्ञका रूपमा परिचित सीआइबीका प्रहरी नायव उपरीक्षक पञ्चकुमार बाँखुले अभियुक्तको बयान लिएका हुन् ।
बयनका क्रममा बलात्कारबारे अभियुक्त मौन रहेको डीएसपी बाँखु बताउँछन् ।

हत्या अभियोग लागेका व्यक्ति नाबालक

हत्या अभियोगमा पक्राउ परेका अभियुक्त शैक्षिक प्रमाणपत्रका आधारमा नाबालक हुन् । अभियुक्त अध्ययन गर्ने विद्यालयका प्रधानाध्यापक प्रजापति भट्टका अनुसार एसईईको प्रमाणपत्रमा अभियुक्तको जन्म मिति २०६१ साल ११ महिना १० गते उल्लेख छ ।

यसको आधारमा अभियुक्त नाबालक हुन् । घटना भएको दिन माघ २१ गतेलाई आधार मान्दा अभियुक्त १६ वर्ष पुग्न २० दिन बाँकी हुन्छ ।

यसलाई आधार मान्ने हो भने अभियुक्तलाई बालबालिका सम्बन्धी ऐन २०७५ को आधारमा कारवाही गर्नु पर्ने हुन्छ ।

बालबालिकासम्बन्धी ऐनको दफा ३६ को उपदफा ३ आकर्षित हुने

दफा ३६ को उपदफा ३ मा भनिएको छ– ‘चौध वर्ष वा सोभन्दा माथि र सोह्र वर्षभन्दा कम उमेरको बालबालिकाले कुनै कसूरजन्य कार्य गरेको भए निजलाई कानूनबमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुनेछ ।’

नाबालक ठहर भए के/कस्तो सजाय हुन्छ ?

बालबालिकासम्बन्धी ऐनको दफा ३६ को उपदफा ४ अनुसार अभियुक्त १६ वर्ष पुगेको भए उपदफा (४) आकर्षित हुन्थ्यो । जसमा कुल सजायको ७५ प्रतिशत सजाय हुने उल्लेख छ ।

बलात्कार र हत्या अभियोग पुष्टि भएमा मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ४१ अनुसार सजाय हुनेछ ।

यस प्रकरणमा पनि पोस्टमार्टम रिपोर्टले बलात्कार भएको देखाएको छ, यस्तो अवस्थामा दफा ४१ आकर्षित हुनेछ ।

जवरजस्ती करणी गरेबापत अतिरिक्त सजाय पनि हुनेछ । जसका लागि मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २१९ उपदफा (१), (२), र ३ (घ) आकर्षित हुने देखिन्छ ।

के छ उपदफाहरुमा ?
उपदफा (१) मा– ‘जबरजस्ती करणी गर्न हुँदैन’ भन्ने उल्लेख छ ।

उपदफा (२) मा भनिएको छ– ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालबालिकालाई जबरजस्ती करणी गरेको मानिने छ ।’

यो प्रकरणमा अपराध पुष्टि हुँदा आजन्म कैद र थप अधिकतम १२ वर्ष कैद हुने हुन्छ । तर, सजाय आधा गर्न कानूनी जटिलता देखिएको छ ।

बालबालिकासम्बन्धी ऐनले सजाय आधा गर्नु भनेकाले कति सजाय हुने भन्नेमा कानूनी जटिलता देखिन्छ । भागरथी हत्या हत्यामा संलग्न भएको आरोपमा एक व्यक्ति त पक्राउ परेका छन् ।

प्रहरीका लागि यो पहिलो चरणको सफलता हो । तर, अबका अनुसन्धान कसरी बढ्छ हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्