पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आउँदैछन् । पोखरा रङ्गशालाको निरीक्षणदेखि कार्यकर्ता भेलालाई समेत सम्बोधन गर्ने उनको कार्यक्रम रहेको छ ।

फागुन १७ गते पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा आउने सोही अवसरमा उनलाई रङ्गशालामा स्वागत गरिने राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री ओलीले पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल रङ्गशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्शीय कभर्ड हल, टेनिस कोर्ट लगायतका खेल पूर्वाधारको निरीक्षण गर्नेछन्।
सिलवालले राष्ट्रिय खेलकूद परिषद्को संरक्षक रहेका प्रधानमन्त्रीको भ्रमणबाट रङ्गशालामा निर्माणाधीन खेल पूर्वाधार छिटो सम्पन्न गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उन भने, ‘प्रधानमन्त्रीलाई रङ्गशालाभित्र निर्माण भएको खेल पूर्वाधार देखाउने छौं, पूर्वाधारका लागि बजेट सुनिश्चितका लागि आग्रह गर्नेछौं। प्रमको भ्रमणले पोखरालाई खेलकूद पर्यटनको शहरका रुपमा विकास गर्न मद्दत पुग्ने विश्वास लिएका छौं ।’
गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूदका लागि अत्यावश्यक स्वीमिङ र सुटिङका पूर्वाधार हालसम्म निर्माण शुरु नभएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने राखेप सदस्य राजेश गुरुङले बताए।
प्रधानमन्त्री ओली सोमबार पोखरा विमानस्थलमा अवतरणपछि नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ । त्यसपछि उनी पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुनेछन् । कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओली पोखरा रङ्गशाला जाने कार्यक्रम तय गरिएको छ ।












