Logo
Logo
टिप्पणी

जब कल्ट राजनीतिले टाउको उठाउँछ


वसन्त लोहनी


 

शरीर कमजोर भएपछि रोगले थला पार्दछ । आजकल खुब सुनिन्छ नि, कोभिडसँग बच्न ‘इम्युनिटी पावर’ बढाउनुपर्छ भन्ने कुरा । इम्युनिटी कमजोर पारेर जिउन खोज्यो भने के हुन्छ ? चल्न सकुन्जेल चल्छ ।  अनि ? त्यसपछि त खतम नै हुन्छ । मान्छे मरेर जान्छ ।

राष्ट्रको हकमा बाचेको भए पनि हारेको हुन्छ– एउटा झिमझिम गर्ने मूर्ति जस्तो । नपत्याए भुटानलाई सोध्नुहोस् । या, भूगोलमा गाउँ ठाउँ त्यही नै भए पनि स्वामित्वले बदलिएको स्वरूप लिएको हुनसक्छ । अझ नपत्याए सिक्किमका जनतालाई सोध्नुहोस् जसले नेपाल देखेका छैनन् ।

पत्याउनुस् या नपत्याउनुस्, अहिले मुलुकको अवस्था यही नै हो । पत्याउनुस्, राष्ट्रको समग्रतामा हेर्न । नपत्याउनुस्, अर्जुनदृष्टिको मोर्चाबन्दी गर्न । यसरी अहिले मुलुक पुरै ओझेलमा परेको छ । उ ठुलो पात्र बन्यो नाटकको । म पिलन्धरे हुँदै गए मुलुकको ।

सबभन्दा ठुलो नाटक भनेकै अर्थ राजनीति हो । चाहे त्यो जुनसुकै मुलुकको किन नहोस् । जति रोमाञ्चकारी नाटक बन्दै जान्छ त्यति खतरनाक ‘स्क्रिप्ट’ लेखिँदै जान्छन् । झुट र बेइमानीको स्क्रिप्टमा, पावरफुल कलाकारिता देखाउन सक्नेले राम्रो खेती गर्न सक्छ । ऊ महान् हुन्छ । मासिया बन्छ । त्यो खेती भनेको राजनीति हो र उब्जनी बन्छ आर्थिक सम्पन्नताको ।

यसको लागि उसले मलाई नै प्रमाण बनाएको छ, साक्षी बकाएको छ । नाटकको आत्मा नै म हूँ भन्छ उ । सबै मेरै लागि गरेको भन्छ । तर यस क्रममा म झन् पिलन्धरे हुँदै गएको छु । यो ऊ र म भनेको को, अनि म भनेको ? पर्सोना हो यो । उ भनेका नेताहरू हुन् । र, म भनेको हामी जनता हौ । उसले खेल खेल्ने मसँग नै हो । खेल देखाउने पनि मलाई नै हो ।

जब राजनीति ‘कल्ट’ बन्छ तब उ पुरा मासिया बन्छ । अर्थात्, जब मैले मान्न थाल्छु उसलाई अवतारको रूपमा म उसको आकांक्षाको महलको इट पत्थर जस्तै बन्दै गइरहेको हुन्छु । आधुनिक विश्व इतिहासमा त्यस्तो झुटको उचाइमा पुग्न सकेको मान्छेको नाम लिनु पर्यो भने निश्चित रुपमा त्यस्तो नाम एडल्फ हिटलरको नै हुन्छ ।

सबैतिर असफल उ एउटा खाते केटा तर, चरम राष्ट्रवादको नारामा बोली बुलन्द पार्दा सो बिकेको थियो । त्यो बेलामा जब पहिलो विश्वयुद्ध हारेको जर्मनीका जनताले अपमानको आशु पिइरहेका थिए र विश्वको उत्कृष्ट वाइमर संविधान लागू भएको थियो सन् १९२० मा ।

ऊ चुनाव जितेर सत्तामा आयो १९३३ मा र त्यही उत्कृष्ट संविधानलाई क्षतविक्षत पार्दै लोभ, घृणा र आक्रोशको ज्वालामुखी बनेर जर्मनीलाई पनि सक्यो र त्यसपछि आफूलाई पनि १९४५ मा सकियो । तर, उसको नाम जति मार्न खोजे पनि मरेको छैन । अझै जब कल्ट राजनीतिले टाउको उठाउँछ । सायद यो निकै रोमाञ्चकारी भएर होला ।

हाम्रो तागत भनेको आफ्नो राष्ट्रिय स्वार्थलाई सर्वोपरी गरेर दुवै छिमेकीको समान सम्बन्ध स्थापित गर्नु हो । तर मालिक रिझाएर गरिने सत्ता राजनीतिले यो तागतलाई निकै दुर्बल पार्दै लगेको कुरा अब घामजत्तिकै छर्लङ्ग छ ।

यो रोमाञ्चको क्षण हालै अमेरिकामा देखियो जहाँ हिटलरको नाम बन्देज छ । बन्देजको कारण अझ अर्थयाउन दोस्रो विश्व युद्धको उसको दानवतालाई हरेक दिन प्रदर्शित गरिन्छ अमेरिकाको वासिङ्टन डिसीको होलोकास्ट म्युजियममा ।

हालै कन्जर्भेटिभ राजनीतिक एक्सन कन्फरेन्सले फ्लोरिडा राज्यको ओरल्यान्डोमा आयोजना गरेको सम्मेलनमा हिटलरको नाजी पार्टीको चिन्ह अवशेषहरूको प्रयोग भाइरल भएको छ ।

त्यहाँ अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रमको पूर्णकदको सुनको मूर्तिलाई एउटा प्रोसेसनमा लगिएको थियो । र, उनले त्यहाँ पनि साबिक झैँ झुटका पुलिन्दाहरू एकपछि अर्को खोल्दै गएका थिए ।

कल्ट राजनीति जसको सर्वोच्च अभिव्यक्ति हिटलर अझै बिम्ब बनेका छन् त्यसैको धमिलो अवशेषमा रमाउने जमात अमेरिकामा संगठित हुँदै गएको देखिन्छन् ।

त्यति शक्तिशाली मुलुक र बलियो प्रजातान्त्रिक सिस्टम भएको मुलुकमा समेत यस्तो कल्टको झुट राजनीतिले गर्दा बाहिरी शक्तिको घुसपैठलाई बढावा दिएको छ ।

अब आफ्नै देशमा आउँ ऊ र म को कुरा गर्न । नेपाल त्यति सानो मुलुक होइन विश्वको करिब दुई सय मुलुकबीच । तर धेरै ठूला दुई छिमेकीबीच खुम्चिएको हुनाले निकै सानो छ ।

हाम्रो तागत भनेको आफ्नो राष्ट्रिय स्वार्थलाई सर्वोपरी गरेर दुवै छिमेकीको समान सम्बन्ध स्थापित गर्नु हो । तर मालिक रिझाएर गरिने सत्ता राजनीतिले यो तागतलाई निकै दुर्बल पार्दै लगेको कुरा अब घामजत्तिकै छर्लङ्ग छ ।

त्यसमा पनि नयाँ थपिएको कल्ट राजनीतिक जमर्कोले झन् सखाप पार्दै गएको छ । मालिक रिझाएर गरिने राजनीतिमा कल्ट राजनीति मिसिएर बनेको दोभानको प्रवाह नै अहिलेको दुर्दशा हो ।

यो प्रवाह झन् झन् बढ्दै जाने देखिन्छ । भित्र र बाहिर कोसँग को कम्फर्टेबल हुने वा गराइने वा एकले अर्कोलाई कसरी ललकार्ने वा ललकारिरहेका छन्, त्यसको धुलोले नदेखिने भएको राजनीति आकाश के छ्याङ्ग हुनसक्छ ? झ्वाट्ट हेर्दा अहिले सक्तैन ।

जति अँध्यारो पार्न सक्यो उति अँध्यारो कर्म गर्न लालायित भित्री र बाहिरी शक्तिहरूको स्वार्थको जोख तौल र खरिदबिक्री अझ मिलिसकेको छैन । यसरी अझ पिलन्धरे पारिँदै लगिएको छु म ।

प्रतिक्रिया दिनुहोस्