Logo
Logo

निर्वाचन आयोगमा दर्ता भएको एमालेले बोलायो बैठक, आधिकारिक आफैं भएको दाबी


दृष्टि संवाददाता


काठमाडौं । सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई पार्टी एकीकरणको पूर्ववत् अवस्थामा फर्काएर नेकपा एमाले र माओवादी केन्द्र नै रहने आशय प्रकट गरेपनि यी दुबै नाम निर्वाचन आयोगमा दर्ता छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) एमाले उदाउँदो सूर्य चुनाव चिन्ह सहित निर्वाचन आयोगमा दर्ता छ । आयोगको अभिलेख अनुसार एमालेको दल दर्ता नम्बर १६० रहेको छ । यो दल २०७७ साउन २० मा दर्ता भएको देखिन्छ । यसको अध्यक्षमा सरिता तिवारी र महासचिव मनिषकुमार उपाध्याय छन् ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पनि निर्वाचन आयोगको अभिलेखमा दर्ता रहेको छ । यो दलको दर्ता नम्बर १५३ रहेको छ । यो दलको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा रहेको छ । यो दल २०७६ भदौ १५ गते दर्ता भएको अभिलेखमा प्रष्ट छ । राजनीतिक दल सम्बन्धी ऐन २०७५ अनुसार यी दुबै दलले नाम र चुनाव चिन्ह पाएको हुन् ।

ऐनमा कुनै दुई दलबीच एकीकरण भएपछिको एक वर्षसम्म चुनाव चिन्ह र नाम कसैलेपनि नपाउने नियम छ । एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो । त्यसको एक वर्षसम्म नाम र चिन्ह फ्रिज भयो । त्यसको एक वर्षपछि गोपाल किराँतीले माओवादी केन्द्र नामको दल दर्ता गराए । यता, नेकपाभित्र विवाद बढ्दै जाँदा गत साउनमा एमाले पार्टी पनि दर्ता भयो ।

त्यसबेला नेकपाभित्र एमाले दर्ता प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा गरिएको विषय उठ्यो । तर, उनले आफूलाई जानकारी नै नभएको प्रतिक्रिया दिएका थिए ।

निर्वाचन आयोगमा दर्ता भएको एमाले के भन्छः
नेकपा एमालेका महासचिव मनिषकुमार उपाध्यायले सम्मानित सर्वोच्च अदालतको आदेशलाई आफूहरुले मान्ने बताएका छन् । दृष्टि न्यूजसँग कुरा गर्दै उनले भने, ‘सर्वोच्च अदालतले गरेको फैसला नजिकबाट नियालेका छौं ।

अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेलजीलाई दिएको तर एमाले र माओवादी केन्द्र अरुको हो भनेर किटान गरेको छैन । एकताको पूर्ववत् अवस्थामा मात्र फर्किएको हो ।’ उनले थपे, ‘हामीले मुलुकको ऐन र कानूनका आधारमा एमाले दर्ता गराएका हौं ।

त्यसैले निर्वाचन आयोगसँग दुई–तीन दिनमा छलफल गर्छौं । त्यसपछि कसरी अघि बढ्ने निर्णय गछौं ।’ एमाले आज आफ्नो पार्टीको बैठक बोलाएको उनले जानकारी दिए ।

उपाध्यायले भने, ‘भोलि त्यस्तै परे पार्टीको नामको सम्बन्धमा हामी पनि कट्टेलले जस्तै न्यायका लागि अदालत जान सक्छौं । तर, त्यसअघि निर्वाचन आयोगको निर्णय पर्खन्छौं ।’

उता, माओवादी केन्द्र पनि निर्वाचन आयोगको निर्णयको प्रतिक्षामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्