Logo
Logo

एकभन्दा बढी बैंकमा खाता नखोल्न स्थानीय तहलाई महालेखाको निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । स्थानीय तहलाई सञ्चित कोषलगायतका खाता एउटै बैंकमा खोल्न महालेखा नियन्त्रकको कार्यालयले निर्देशन दिएको छ । कतिपय स्थानीय तहले १ भन्दा बढी बैंक तथा वित्तीय संस्थामा खाता खोलेकामा पछिल्लो पटक सहमति प्राप्त बैंकबाहेकका खाता बन्द गर्न महालेखाले निर्देशन दिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत गरिएको परिपत्रअनुसार स्थानीय तहहरूको ‘ग’ समूहको खाता सञ्चालन गर्दा सञ्चित कोषलगायत सम्पूर्ण खाता एउटा मात्र बैंकमा हुनुपर्ने प्रावधान छ । कतिपय स्थानीय तहको खाता एउटाभन्दा बढी बैंकमा खोलिएको हुँदा पछिल्लो पटक सहमति प्रदान भएको बैंकमा मात्र खाता सञ्चालन हुने गरी साविकका बैंकमा भएका खाता बन्द गर्ने व्यवस्था मिलाइनेछ ।

सरकारी कारोबार निर्देशिका, २०७६ अनुसार संघ, प्रदेश र स्थानीय तहका खातालाई सांकेतिक रूपमा क्रमशः क, ख र ग गरी ३ समूहमा विभाजन गरिएको छ । स्थानीय तहले कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सिफारिस लिएर मात्र यस्तो खाता खोल्न पाउने व्यवस्था छ ।

यसैगरी राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम मौज्दात रहने खाताको विवरण कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत महालेखामा पठाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्