Logo
Logo

तनहुँमा पाँच सय गणक, सय सुपरीवेक्षक परिचालन गरिने


दृष्टि संवाददाता


तनहुँ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनका लागि तनहुँमा पाँचसय गणक र सय सुपरीवेक्षक परिचालन गरिने भएको छ । जिल्ला जनगणना कार्यालय तनहुँले आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो ।

विसं २०७८ को जेठ र असार महीनामा हुने सो गणना नेपालको जनगणनाको इतिहासमा ११० वर्षमा गर्न लागिएको बाह्रौँ शृङ्खला हो । जनगणना अधिकारी नन्दलाल सापकोटाले स्थानीय तहका जनशक्तिलाई प्राथमिकता दिएर गणक र सुपरीवेक्षकलाई करारमा राख्ने योजना रहेको बताए।

उनले भने, ‘आगामी १० वर्षलाई नेतृत्व गर्ने भएकाले सही सूचना सङ्कलनमा जोड दिइएको छ ।’ समावेशी सहभागिताका लागि महिला र पुरुष दुवैलाई स्थान दिइएको छ । महिलाको हकमा ४५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ ।

पहिलो चरणमा सुपरीवेक्षकद्वारा प्रत्येक घर तथा घरपरिवारमा पुगेर घर तथा घरपरिवारका् विवरण लिइन्छ । पुरुष, महिला र अन्य लिङ्गी तथा परिवारको कृषिसम्बन्धी विवरण सङ्कलन गरिने छ ।

दोस्रो चरणमा गणकद्वारा प्रत्येक घरधुरीमा पुगेर मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु बसाइँसराइलगायत विवरण सङ्कलन गरिनेछ । दोस्रो चरणअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तरीय सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोतसाधन, पहुँच, क्षमता पूर्वाधार र विपद्सम्बन्धी विवरण सङ्कलन गरिनेछ ।

घर तथा घरपरिवार सूचीकरण फाराम ०७८ वैशाख २६ देखि जेठ १४ र मुख्य प्रश्नावली ०७८ जेठ २५ देखि असार ८ गतेसम्म विवरण भर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्