Logo
Logo

नेपालमा पुनः कोरोना संक्रमण बढ्ने खतरा, सीमामा छैन निगरानी


प्रदीपराज दाहाल


काठमाडौं । भारतमा दुई साता यता कोभिड–१९ संक्रमण बढेको छ । धेरैले भारतमा संक्रमितको संख्या बढ्नुलाई ठूलो विषय मानेनन् । तर, भारतका केही प्रदेश र मुख्य शहरमा लकडाउन नै गरिएपछि नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै सतर्कता बढाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत सचेत रहन आग्रह नै गरिसकेको छ ।

आइतबार सरकारले विज्ञप्ति जारी गरेर भोज, भतेर, सभा, सम्मेलन नगर्न आग्रह गरिरहँदा वीरगञ्जमा कोरोना संक्रमितको संख्या बढेको थियो । आइतबार वीरगञ्जमा मात्रै १० जना नयाँ संक्रमित फेला परिसकेका थिए । वीरगञ्ज भारतसँग सीमा जोडिएको नेपालको प्रमुख व्यापारिक नाका भएको शहर हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा आइतबार ५० जनाको पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि हुनुले पुनः संक्रमणको दर बढ्ने हो कि भन्ने प्रश्न उब्जिएको छ । सरकारको विज्ञप्तिले पनि त्यस्तै संकेत गर्छ ।

मातहतलाई मन्त्रालयको निर्देशन
आइतबारदेखि कोरोना संक्रमितको संख्यामा बढ्न थालेको छ । कोरोना भाइरसविरुद्धको खोप नेपालमा आएसँगै नागरिकले महामारीका क्रममा अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड वास्ता गर्न छोडेका छन् । सरकारले पनि ध्यान दिएन । भारतमा संक्रमण बढेसँगै खुल्ला सीमाका कारण नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै पुरानै अवस्थामा संक्रमण रोक्ने तयारीमा जुट्न स्वास्थ्य तथा जनसंख्याले सबै अस्पताल, स्वास्थ्य संस्था र अन्य निकायलाई निर्देशन दिइएको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

अझै पनि छैन तयारी
मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै सभा, सम्मेलन, भीडभाड नगर्न त भन्यो तर, सरकारी पक्षबाट हुनुपर्ने तयारी अझै देखिएको छैन । हरेक दिन सीमाबाट नेपाली आउनेजाने क्रम चलिरहेको छ । नाकामा कडाई गर्ने सवालमा सरकार अझै तयार भइसकेको छैन । त्यति मात्र नभई सरकारले पुनः महामारी फैलिएको खण्डमा पहिलेको भन्दा थप व्यवस्थित कसरी गर्ने भन्ने विषयमा गृहकार्य पनि सुरु गरेको छैन । प्रवक्ता गौतमले मातहतका निकायलाई निर्देशन दिएकाले उनीहरूले जोखिम रोक्ने विषयमा काम अघि बढाउने बताएका छन् । तर, त्यसको अनुगमन, काम भए÷नभएको हेर्ने गरी थप योजना बनाएका छैनन् ।
सरकारले महामारी फैलिन थालिसकेको छ कि भनेर सम्भावित घटनालाई ध्यानमा राखेर परीक्षणको दायर पनि बढाएको पाइँदैन ।

सीमामा छैन निगरानी
भारतमा केही दिन यता पुनः संक्रमण तीव्र रुपमा फैलिरहेको भए पनि नेपालकै प्रमुख स्थल नाका वीरगन्जमा भने राज्यको तर्फबाट कुनै निगरानी र स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको छैन । कोरोनाको पहिलो लहर सुरु भएका बेला कोरोना महामारीको इपिसेन्टर नै बनेको वीरगन्जमा पहिलो पटक गत चैत ३० गते ३ जना भारतीय नागरिकमा संक्रमण भेटिएको थियो । उनीहरु भारतबाटै आएर वीरगन्जमा बसेको अवस्थामा शंका लागेर वीरगन्जको नारायणी अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्व नजिकिँदा त्रास थपिँदै
होली नजिकिएको छ । आगामी आइतबार देश होलीको रंगमा रंगिनेछ । ठीक एक दिनपछि तराईका जिल्लामा होली मनाइन्छ । त्यसबखत धेरै भीडभाड हुन्छ । यदि संक्रमण फैलिइसकेको छ भने पर्वको समयमा झन् यसले भयावह रूप लिने विषयलाई नकार्न सकिँदैन । जसतर्फ स्थानीय सरकारदेखि संघीय सरकार खासै चनाखो भएको पाइँदैन । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्षको होली नखेल्न आह्वान गरिसकेका छन् भने यस्तो अवस्थामा सरकारले पनि कुनै न कुनै आह्वान गर्नुपर्ने जनस्वास्थ्यविज्ञ रविन्द्र पाण्डेको भनाइ छ । साथै, महामारीका समयमा होली घरमै बसेर मनाउन र गत वर्ष होलीमा जसरी स्वास्थ्य मापदण्ड अपनाइयो त्यसरी नै अपनाउनुपर्ने उहाँको सुझाव रहेको छ ।

र्‍यापिड एन्टिजेन पुनः सुरु गरिँदै
भारतमा सक्रमण बढ्दै गएपछि रोकथामका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अपनाउन थालिएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत केही दिनदेखि संंकास्पद व्यक्तिको एन्टिजेन (कोरोनाको सामान्य जाँच) गरेर मात्र प्रवेश गर्न दिइएको छ । तर, संकास्पद व्यक्ति भेटिएमा क्वारेन्टिन व्यवस्थापन कसरी गर्ने भन्ने तयारीको अहिले पनि भएको छैन ।

धनगढीमा उपमहानगरले जारी गर्‍याे सूचना
धनगढी उपमहानगरपालिकाद्वारा आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरिएको छ । उपमहानगरपालिकाले सक्रमण पुनः बढ्न सक्ने जोखिम रहेकाले भीडभाड नगर्न तथा भीडभाडमा जानै परेमा भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

खोप लगाएकालाई पनि हुन सक्छ संक्रमण
जन स्वास्थ्यविज्ञ रविन्द्र पाण्डेका अनुसार कोरोना भाइरसविरुद्धको खोप लिएपछि पनि केहि व्यक्तिमा कोरोना संक्रमण हुन सक्छ । तर, खोप लिएपछि कोरोना संक्रमण भएतापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । त्यसैले खोप लिएपछि पनि भिडभाडमा नजाने, मास्क अनिवार्य प्रयोग गर्ने, अर्को व्यक्तिसँग २ मिटर दुरी कायम गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पालनालाई निरन्तरता दिनुपर्ने देखिन्छ ।

सरकार फेरि नचुकोस्
रविन्द्र पाण्डेको शब्द सापटी लिने हो भने गत वर्ष कोरोना भाइरसले पुर्याएको असरबाट सरकारले पाठ सिक्न जरुरी छ । दैनिक ४ देखि ५ हजार नेपाली भारतबाट नेपाल आइरहेका छन् । उनीहरूलाई घर फर्कन सहज गर्ने, क्वारेन्टिनलाई पुनः व्यवस्थित गराउनुपर्ने, एन्टिजेन परीक्षण गर्नुपर्ने र परीक्षणमा कन्जुस्याइँ गर्न हुँदैन । अभावबाट पाठ सिक्नुपर्छ । स्वास्थ्य मापदण्ड पालना गराउन सरकारलाई निर्मम भएर निर्णय गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्