Logo
Logo

अर्थमन्त्री लखेटिएको घटनालाई लिएर रुपन्देहीका सीडीओ र एसपीको सरुवा


दृष्टि संवाददाता


बुटवल । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुखहरुको ६ महिना नपुग्दै सरुवा भएको छ । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रविण पोखरेललाई पनि ६ महिना नपुग्दै सरुवा गरिएको हो ।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक भरत खनियालाई पनि हटाइएको छ । गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पिताम्वर घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्सा सरुवा गरेको हो ।

रुपन्देहीमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ आउने भएका छन् । घिमिरे २०७७ भदौमा रुपन्देहीमा प्रजिअ भएर आएका थिए ।

गत फागुन २१ गते बुटवलको रानीगन्जमा मोतिपूर औद्योगिक क्षेत्रको शिलान्यासमा स्थानीयको विरोधपछि बिथोलिएको र अर्थमन्त्री विष्णु पौडेल दुई मिनेट पनि बोल्न नपाई कार्यक्रम छाडेर हिँड्नुपरेको घटनालाई लिएर प्रजिअसहित सुरक्षा प्रमुखहरुको सरुवा गरिएको स्रोतको भनाई छ । सरुवाबारे प्रजिअ घिमिरेले भने केहि बताएका छैनन् ।

सो शिलान्यास कार्यक्रम लगत्तै स्थानीयले औद्योगिक क्षेत्रको शिलालेख स्तम्भ र आयोजनाको सूचना बोर्ड भत्काइदिएका थिए । स्थानीयले ढुंगामुढा गरेपछि अर्थमन्त्री पौडेल बोल्दाबोल्दै दुई मिनेटमै मञ्च छाडेर हिँडेका थिए । त्यस क्रममा एमाले कार्यकर्ताले समेत स्थानीयमाथि ढुंगामुढा गरेर प्रतिकार गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्