Logo
Logo

९१ वर्षसम्म नआएको खुशी


दृष्टि संवाददाता


पोखरा । उमेरले ९१ वर्ष पुगे पनि कास्कीको मादी गाउँपालिका–९ छाप मैदानकी द्रौपदी जमरकट्टेलका जीवनमा कहिल्यै खुशी आएन । चिसो–तातो मिलाएर छोराछोरी, बुहारी तथा नातिनातिनालगायत आफन्तले खाना खुवाउने तथा स्याहारसुसार गर्नुपर्ने अवस्थामा बेसहारा जमरकट्टेलले यतिखेर दर्दनाक जीवन बिताउँदै आएकी छन् ।

पाँच छोरी र एक छोराकी अभिभावक जमरकट्टेल विगत सात वर्षयता श्वासप्रश्वासलगायतका समस्याले ग्रसित भए पनि उपचार नपाउँदा कष्टकर जीवन बिताउन बाध्य छिन् । चैत महिनाको दोस्रो साता मादी–९ गोर्जेमा पर्खालको सहायतामा झुत्रो गुन्द्री बिछ्याएर गुन्द्री नै ओढेको अवस्थामा भेटिएकी जमरकट्टेलले वर्षौँदेखि कष्कटर जीवन बिताउँदै आएको स्थानीयवासीले बताउछन् ।

स्थानीयवासीका अनुसार वर्षौँ पहिले श्रीमानले कान्छी लिएर गाउँ छाडेपछि द्रौपदीका दुःखका दिन शुरु भएका हुन् । श्रीमान् अहिले कान्छी श्रीमतीका साथ कास्की जिल्लाको रुपा गाउँपालिका–७ हंसपुरमा बस्छन् ।

पाँचवटी छोरी विवाह भएर आ–आफ्नै घर लागिसकेका छन् भने घरमा भएका छोरा नसा र हाडसम्बन्धी रोगबाट ग्रसित छन् । आफू पनि अशक्त र बुढ्यौलीले छोएर आर्थिक विपन्नताका कारण उपचार गर्न नपाएको उनका छोरा नरनाथ जमरकट्टेलले बताए ।

बुबाले आफूहरु सानै छँदा कान्छी आमा लिएर हिँडेको बताउँदै उनले छ छोराछोरीको पालनपोषणका लागि आमाले विगतमा निकै संघर्ष गरेको सुनाए । दिदीबहिनी विवाह भई गइसकेको र आफू शारीरिकरूपमा अशक्त भएका कारण चाहेर पनि आमाको उपचार गर्न नसकेको उनले दुखेसो गरे । ‘पोखराको फिस्टेल अस्पतालमा उपचार गर्न त लगियो, उपचार गर्दा पेटसम्बन्धी समस्या देखियो’, उनले भने, यो समाचार आजको सौर्य दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्