Logo
Logo

प्रचण्डद्वारा नरैनापुरका आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकेको नरैनापुर गाउँपालिका–४, खोदवामा आगलागीबाट भएको क्षति भएकालाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले शनिबार खोदवामा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहत उपलब्ध गराउन माग गरेका हुन् ।

अध्यक्ष प्रचण्डले आगलागीमा परेर घाइते भएकाहरुको स्वास्थ्य लाभको कामना गर्दै विज्ञप्तिमा भनेका छन्, ‘देशकै पिछडिएको गाउँपालिकाका रुपमा सूचीकृत नरैनापुर गाउँपालिका–४ खोदवामा मात्रै ११५ घरधुरी जलेर नष्ट भएका छन् । यो संख्या प्रारम्भिक अनुमान भएकाले अझै बढ्ने सम्भावना छ । उक्त आगलागीबाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

नरैनापुरका बासिन्दाको मुख्य समस्या गरीबी र विपन्नता भएको र असुरक्षित आवासका कारण वर्षेनी आगलागीको चपेटामा पर्ने गरेकोले राज्यको ध्यान जानुपर्ने उनले बताएका छन् ।

अध्यक्ष प्रचण्डले आगलागीबाट पीडितहरूको तत्काल उद्दार, राहत र पुनर्वास तथा घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारको लागि सरकारसँग विशेष आग्रह गरेका छन् ।

साथै उनले नैरनापुरजस्ता देशका विभिन्न भागहरुमा आगलागी र डढेलो लाग्ने गरेकोले आगलागी र डढेलो नियन्त्रणका लागि तात्कालिन र दीर्घकालिन योजनासहित आवश्यक कदम चाल्न तीनवटै तहका (स्थानीय, प्रदेश र केन्द्र) सरकारसहित सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्