Logo
Logo

गुराँस टिप्नेलाई पाँच हजार जरिवाना


दृष्टि संवाददाता

693
Shares

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको हो ।

समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई पाँच हजार जरिवाना तिराउने निर्णय भएको जानकारी दिए । ‘गुराँसको फूल टिप्ने क्रममा हाँगा भाँच्दा रुख मासिने खतरा बढेको छ,’ उनले भने, ’राष्ट्रिय फूल गुराँस संरक्षणका लागि यस्तो निर्णय गरिएको हो ।’ गुराँसको फूल नपाक्दै टिपिदिदाँ त्यसको बीउ भुइँमा झर्ने र नयाँ बिरुवा पलाउन नपाउने समस्या हुने उनले बताए ।

घोडेपानीको जंगलमा पछिल्लो दश वर्षयता गुराँसका रुख काट्न पनि रोक लगाइएको छ । विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा ३२ प्रताजिका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छन् ।

एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको आकलन गरिएको छ । वसन्त ऋतृसँगै घोडेपानी क्षेत्रको गुराँसको जंगल अवलोकनका लागि केही दिनयता पर्यटकको चाप बढेको छ ।

बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौंलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा आउने गरेका छन् । दैनिक १५० देखि २०० को हाराहारीमा आन्तरिक पर्यटक आउन थालेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्