Logo
Logo

प्रदेश १ को प्रदेश सभा बैठक एक साता स्थगित 


दृष्टि संवाददाता


माेरङ । प्रदेश १ को प्रदेश सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै प्रतिपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेपछि संसद्को बैठक एक साताका लागि स्थगित गरिएको हो ।

प्रतिपक्षी दलहरूले कुर्सीबाट उठेर अवरोध गरेपछि उपसभामुख सरस्वती पोखरेलले बैठक ५ वैशाखसम्म स्थगित भएको घोषणा गरिन् । निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको प्रदेश १ सभाको सोमबारको बैठकको विशेष समयमा प्रतिपक्षी दल जसपा संसदीय दलका नेता जयराम यादवले सबैको सहयोग पाएर पनि मुख्यमन्त्री शेरधन राई नेतृत्पको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए ।

उनले भने, ‘सरकारले जिम्मेवार भएर संसद्लाई जवाफ नदिएसम्म हाम्रो अवरोध जारी रहन्छ, अटेर गरिरहेमा भीरबाट झर्ने गोरुलाई राम राम मात्र भन्न सकिने, तर काँध थाप्न नसकिने भनेजस्तै सधैँ सरकारलाई साथ दिइरहन बाध्य हुने छैनौँ ।’

सरकारले योजना र कार्यक्रमको वितरण, कर्मचारी सरुवा, बजेट निर्माण र खर्चलगायतका काममा सुशासनमुखी भएर काम गर्न नसकेको, विकासको योजनाहरू अलपत्र बनाएको, बजेटमा उल्लेख भएका योजनाहरूको निकास अझै गराउन नसकेको आरोप प्रतिपक्षी सांसदहरूको छ ।

प्रदेश सभामा मुख्य प्रतिपक्षी दल कांग्रेस, प्रतिपक्षी दल माओवादी केन्द्र, जसपा, राप्रपा र संघीय लोकतान्त्रिक मञ्च एक भएर मुख्यमन्त्री आफैँले संसद्लाई चित्तबुझदो जवाफ दिनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्