Logo
Logo

धुलिखेल र बनेपाको शैक्षिक संस्था बन्द


दृष्टि संवाददाता


काठमाडौं । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारको निर्णयअनुसार काभ्रेपलाञ्चोकको दुई मुख्य नगर धुलिखेल र बनेपाका शिक्षण संस्था बुधबारदेखि वैशाख मसान्तसम्म बन्द हुने भएको छ ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) को मंगलबारको बैठकले उक्त निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको बैठकले बनेपा र धुलिखेल नगरका सबै प्रकारका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । ‘दुई नगरका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा हुने सबै शैक्षिक क्रियाकलाप बुधबारबाट बन्द गर्ने निर्णय गरियो’, पोखरेलले भने ।

उनका अनुसार बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र वैशाख मसान्तसम्म भौतिक उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई सञ्चालन गर्ने निर्णय गरिएको हो । बैठकको निर्णय पालना गरे नगरेकोसमेत डिसिएमसीले अनुगमन गर्ने जनाइएको छ ।

कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले सोमबार नै देशभरका २५ शहरका शिक्षण संस्था वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेअनुसार काभ्रेपलाञ्चोकको दुई शहर बनेपा र धुलिखेल पनि थिए । तर, यहाँका शैक्षिक संस्था मंगलबार निर्वाध सञ्चालनमा आए ।

बनेपा नगरमा ३१ सामुदायिक र ४० निजी तथा धुलिखेल नगरमा २६ सामुदायिक विद्यालय तथा ११ निजी विद्यालय सञ्चालनमा छन् । बनेपाको तीन विद्यालयका केही शिक्षक र विद्यार्थीमा कोरोना देखिएको छ ।

यसअघि कोरोना महामारीका कारण २०७६ चैत ६ गतेदेखि देशभरका विद्यालय एकैसाथ बन्द गरिएको थियो । करिब ११ महिनापछि अर्थात् माघबाट मात्रै पूर्णरुपमा भौतिक उपस्थितिमा मात्रै कक्षा शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्