Logo
Logo

भारतको गंगाराम अस्पतालमा २५ जना कोरोना संक्रमितको मृत्यु


दृष्टि संवाददाता


एजेन्सी । भारतको नयाँ दिल्लीमा रहेको गंगाराम अस्पतालमा पछिल्लो २४ घण्टामा २५ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । अस्पतालले शुक्रबार बिहान मृत्युको जानकारी गराएको हो । अस्पतालले उनीहरूसँग २ घण्टाको लागि मात्र अक्सिजन भएको बताएको थियो ।

अस्पतालका प्रमुखले अक्सिजनको कमीका कारण भेन्टिलेटर र बाइप्याप ठीकसँग काम नगरिरहेको र ६० जनाको जीन्दगी खतरामा रहेकाले तुरुन्त एयरलिफ्ट गरेर अक्सिजन पुर्याउन माग गरेका थिए । केही भारतीय सञ्चारमाध्यमले २५ जनाको मृत्यु अक्सिजनको कमीका कारण भइरहेको बताए पनि अस्पताल प्रशासनले भने स्वीकार गरेको छैन ।

बिहान अस्पतालले २५ जनाको मृत्यु भएको खबर सार्वजनिक गरेको १ घण्टामै अस्पतालमा अक्सिजनको ट्याङ्कर पुगेको थियो । अस्पतालले अहिलेसम्म कसैको पनि मृत्यु अक्सिजनको कमीका कारण नभएको बताउँदै गर्दा पर्याप्त अक्सिजको आपूर्ति छिटो गर्न केन्द्र र राज्य सरकारसँग माग गरेको छ । अस्पतालले अहिले आफूहरूसँग ६ घण्टाको लागि पुग्नेृ अक्सिजन भएको जनाएको छ ।

राज्य सरकारले अस्पताललाई बिहान र राति गरी दिनको दुईपटक अक्सिजन दिइरहेको छ । आईसीयू र भेन्टिलेटरमा अक्सिजनको खपत बढी हुने भएकाले अस्पतालहरूले अक्सिजनको आपूर्ति बढी गर्नुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्