Logo
Logo

निषेधाज्ञामा नियमित उडान हुने


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागू हुँदैछ । निषेधाज्ञाकैबीच आन्तरिक तथा अन्तरराष्ट्रिय उडान नियमित हुनेभएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निषेधाज्ञा लागू गरिएका अवस्थामा पनि दुवैतर्फका उडान नियमित हुने जनाएको छ ।

क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले निषेधाज्ञा लागू हुने बिहीबारदेखि आन्तरिक र अन्तरराष्ट्रिय उडान नियमित सञ्चालन गरिने जानकारी दिए ।

विमानस्थलसम्म जाने यात्रु तथा एयरलाइन्सका कर्मचारीको सहज आवागमनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरिएको क्यानको भनाइ छ । आन्तरिक उडान नियमित हुने भए पनि निषेधाज्ञाअघिको तुलनामा यात्रुको सङ्ख्या कम हुने प्रवक्ता क्षेत्रीले बताए ।

तथापि निषेधाज्ञाको नराम्ररी असर आन्तरिक हवाई उडानमा परेको छ । निषेधाज्ञा हुने अघिल्ला दुईदेखि तीन दिनमा वायुसेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेर यात्रुलाई गन्तव्यमा पुर्‍याउन ब्यस्त रहे । यसबीचमा काठमाडौँ बाहिरिने र भित्रिने हवाई यात्रु पनि ह्वात्तै बढेका छन् । यात्रुको सुविधालाई मध्यनजर गर्दै अधिक सङ्ख्यामा उडान थपिएको एयरलाइन्सले जनाएका छन् ।

आन्तरिक उडानका ठूला हवाई सेवा प्रदायक कम्पनीहरु बुद्ध एयर, यती एयलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीलाई यात्रु ओसार्ने चटारो परेको छ । यात्रुको चाप बढेपछि वायुसेवा कम्पनीले उडान थपेका छन् ।

बुद्धले आज २२ र मङ्गलबार २० तथा यतीले पाँच उडान थपेको थियो । आज पनि सोही हाराहारीमा उडान थपिएको कम्पनीले जनाएका छन् । बुद्ध एयरले आज १५० उडानमार्फत झण्डै आठ हजार यात्रु गन्तव्यमा पु¥याएको छ । सो कम्पनीले मङ्गलबार मात्रै देशका विभिन्न गन्तव्यमा आगमन र प्रस्थान दुवैगरी १४८ वटा उडान गरेको छ । ती उडानबाट सात हजार ५०० सयभन्दा बढी यात्रु उडेका छन् ।

बुद्धले बिहीबारका लागि १०० हाराहारी उडान गर्ने र ती उडानका लागि करिब चार हजार यात्रुले बुकिङ्ग गरेको जनाएको छ । कम्पनीका सूचना अधिकारी दीपेन्द्र कर्णले निषेधाज्ञा अघिको तुलनामा कम सङ्ख्यामा उडान हुने बताए । उडान सञ्चालन भए पनि विमानस्थलसम्म पुग्ने र फर्कनेका लागि के कस्तो व्यवस्था हुन्छ भन्ने अझै अन्यौलता रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्