काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको उल्लंघन गरी बिना काम हिँडडुल गर्ने १४१७ जनालाई प्रहरीले होल्डिङ जोनमा राखेको छ ।
महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसपी सुशीलसिंह राठौरका अनुसार सोधपुछ गर्दा उनीहरु बिना काम बाहिर हिँडडुल गरेको पाइएपछि होल्डिङ जोनमा राखिएको हो । उनीहरूलाई १५ देखि ३० मिनेटसम्म होल्ड गरी प्रहरीले सम्झाएर छाड्ने गरेको छ।
त्यसैगरी निषेधाज्ञाको उल्लंघन गरी चलेका एक हजार एक सय ४८ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । त्यसमध्ये ८ सय १५ वटा दुई पाङ्ग्रे र ३ सय ३३ वटा चार पाङ्ग्रे गाडी छन्।
काठमाडौंका ४४, ललितपुरका ८ र भक्तपुरका ४ ठाउँमा विशेष चेकिङ खडा गरेर जाँच गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका सवारीसाधनलाई साँझ ६ बजेसम्म होल्ड गरेर मात्रै छाड्ने महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यकामा आजदेखि २२ गते मध्यरातसम्मका लागि निषेधाज्ञा गरिएको छ । सोमबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।












