Logo
Logo

पाँच सय ५० पत्रकार संक्रमित, सात जनाको निधन


दृष्टि संवाददाता


काठमाडौं । पाँच सय ५० पत्रकारलाई कोरोना संक्रमण भएको छ । नेपाल पत्रकार महासङ्घका अनुसार हालसम्म ५ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ७ जना पत्रकारको निधन भएको छ।

सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए ।

उनले कोरोना सङ्क्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसंँग माग गरेका छन् ।

विज्ञप्तिमा संवेदनशील घडीमा अनेक कठिनाइ भए पनि कार्यस्थलमा खटिने पत्रकारलाई अझ बढी गम्भीर र सचेत रहन आग्रह गरिएको छ ।

‘कतिपय शाखामा अक्सिजनसहितको आइसोलेशनको व्यवस्था गरिएको छ । यो विषम परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपत्कालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखासहित पत्रकारलाई महासंघ अनुरोध गर्दछ ।’

यस्तै महासंघले कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा कार्यस्थलमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य र सुरक्षा सामग्री व्यवस्था गर्न सरकारसंँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्