Logo
Logo

तिलोत्तमा नगर प्रमुख र उपप्रमुखले चढ्ने गाडीलाई एम्बुलेन्स बनाइयो



रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्ने सवारीलाई कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाइने भएको छ।

नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका हुन् ।

संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स समयमा नपाउने र एम्बुलेन्स सेवा पर्याप्त नभएपछि नगरप्रमुख र उपप्रमुखले आफूहरुले चढ्दै आएका दुई गाडी बिरामीको सेवाका लागि प्रयोगमा लगाउने निर्णय गरेका हुन् ।

नगरपालिकामा हाल आफ्नै मातहतमा दुई एम्बुलेन्स सञ्चालनमा छन्। नगरप्रमुख र उपप्रमुखले चढ्ने दुई गाडीसमेत गरी अब चार सवारी साधनले कोरोना संक्रमित बिरामीलाई बोक्नेछन्। छिटोछरितोरूपमा सेवा दिनका लागि आफूहरुले चढेको गाडी कोरोना संक्रमितका लागि प्रयोगमा ल्याइएको नगरप्रमुख घिमिरेले बताए। आज नगरप्रमुख र उपप्रमुखले आफूले चढ्ने गाडीको चाबी कोरोना फोकल पर्सन केशव भट्टराईलाई हस्तान्तरण गरेका छन्।

कोरोना महामारीको विकराल रूप नहट्दासम्म आफूहरु वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने उपप्रमुख चौधरीले बताइन। संक्रमितलाई अन्य साना सवारी साधनले सजिलै अस्पताल वा आइसोलेशनमा नपुर्‍याउँदा समस्या बढ्दै गएको पाइएकाले यो निर्णय गरिएको उनहरुको भनाइ छ।

नगरप्रमुखले प्रयोग गर्ने लु१झ ३६० र उपप्रमुखले प्रयोग गर्ने लु१झ ३२६ नंको स्कारपियो आजैदेखि कोरोना संक्रमितलाई बोक्न प्रयोगमा आएका छन्। यस्तै नगर प्रहरीले प्रयोग गर्ने लु१झ ४७२ पनि कोरोना व्यवस्थापनमै प्रयोग हुनेछ। यी सवारीसाधनलाई समेत २४सै घण्टा सेवाप्रवाह गर्ने गरी तयारी अवस्थामा राखिने स्वास्थ्य शाखाले जनाएको छ।

नगरपालिकामा रहेका एम्बुलेन्स र एम्बुलेन्सको रुपमा प्रयोग हुने थप दुई सवारी साधन स्वास्थ्य शाखामार्फत परिचालित हुनेछन्। यी सवारी साधनले मुलतः नगरपालिकाभित्रका कोरोना संक्रमितलाई घरबाट अस्पताल वा आइसोलेशन तथा अस्पताल वा आइसोलेशनबाट बिरामीको घरसम्म पुर्‍याउनेछन्।

नगरपालिकाले शङ्करनगरमा ४० श्यया क्षमताको नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सेवा दिने गरी आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्