Logo
Logo

नेपाल सुपर लिग : ललितपुर प्लेअफमा, विराटनगर बाहिरियो


दृष्टि संवाददाता


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीले प्लेअफमा स्थान बनाएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विराटनगर सिटी एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्लेअफमा स्थान पक्का गरेको हो । नगढी एफसी र काठमाडौं रेजर्स यसअघि नै प्ले अफमा पुगिसकेका छन् ।

ललितपुरको जितमा कप्तान अञ्‍जन विष्टले दुई गोल गरे । उनले ३६ औँ र ८१ औँ मिनेटमा गोल गरे । त्यस्तै विजयी टिमका लागि विमल राना र विदेशी खेलाडी नुर्लान जाहिदले समान एक गोल गरे ।

रेफ्रीको निर्णयमा विमती जनाउदै केहीबेरका लागि मैदान छाडेको विराटनगर ८४ औँ मिनेटपछि १० खेलाडीमा सिमित भयो । विराटनगरका विजय धिमाल दोहोरो पहेलो कार्डका कारण मैदान छाड्न बाध्य भएका थिए ।

विराटनगरमाथि जित दर्ता गरेपछि ललितपुरले छ खेलबाट नौ अंक बनायो र तेस्रो स्थानमा उक्लियो । त्यस्तै, विराटनगर भने सात अंकमा सिमित भयो । र, पाँचौँ स्थानमा झर्‍यो । एनएसएलको प्लेअफमा यसअघि नै धनगढी एफसी र काठमाडौँ रेजर्सले स्थान पक्का गरिसकेका छन् ।

अब लिगमा शीर्ष दुईमा रहने टोलीबीच पहिलो प्लेअफ खेल हुनेछ । वजियी टिम फाइनल प्रवेश गर्नेछ । त्यस्तै, पराजित टिमले तेस्रो तथा चौँथौँ हुने टिमबीचको विजेताको सामना गर्नेछ । फाइनल खेल जेठ १ मा दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्