Logo
Logo

नागरिक बने अनागरिक !


दृष्टि संवाददाता


तस्विर: नयाँ पत्रिका

काठमाडौं । कोभिड संक्रमण अनियन्त्रित भइरहेको वेला सरकारको तयारी के छ ? एउटा उदाहरण लुम्बिनी प्रदेशमा छ । कुल १६ हजार नौ सय आठ सक्रिय संक्रमितमध्ये १४ हजार आठ सय ४१ जना घरमै छन् । दुई हजार एक सय बिरामी अस्पताल जाँदा बेड पाएका छैनन् ।

प्रदेश मुकाम रहेको रुपन्देहीका अस्पतालमा नै बेड नपाएपछि बिरामीहरू अस्पतालको भुइँमा, गोदाममा र शवगृहको पेटीमा समेत सुतेका छन् । तर, उनीहरूका लागि अक्सिजको समेत अभाव हुँदै गएको छ ।

दुई साताअघि नेपालगन्जमा जे अवस्था थियो, अहिले रुपन्देहीमा त्यही अवस्था आएको छ । तर, सरकारले न नेपालगन्जमा कुनै व्यवस्था गर्न सक्यो, न त्यहाँको पाठ लिएर अन्य क्षेत्रमा तयारी ग¥यो । त्यसैले अहिले संक्रमित नागरिक बेवारिसे भएका छन् ।

भैरहवास्थित २५ बेडको कोभिड अस्पतालमा करिब सयजनाको उपचार भइरहेको छ । बेड खाली नभएकाले अस्पताल परिसरको भुइँ, पेटी, गोदाम, पुरानो शवगृह, भवनका पेटीमा राखेर बिरामीको उपचार भइरहेको छ । तर, सबै बिरामीका लागि आवश्यक अक्सिजन नभएकाले समस्या थपिएको छ ।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा। शकुन्तला गुप्ताले बेड अभावमा बिरामीलाई बाहिरै राखेर उपचार गर्नुपरेको बताइन् । ‘हामीले व्यवस्था गर्न सक्ने अवस्था छैन, बिरामी आफैँले आफूलाई सहज स्थान खोजेर बिस्तारा लगाई बस्ने गरेका छन्,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘त्योभन्दा ठूलो समस्या अक्सिजनको भयो । उपचारको आशामा आएका बिरामीलाई अक्सिजन दिन सकिएन भने दुर्भाग्य हुन्छ ।’

अस्पतालमा अक्सिजन भण्डारण गर्ने कुनै व्यवस्था छैन । उद्योगबाट आएका अक्सिजन सीधै प्रयोग हुने हो । ‘माग बढेकाले सिलिन्डर अभाव हुन थालेको छ, हामी चिन्तित छौँ,’ उनले भनिन् ।

उता, अक्सिजन अभावमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले सोमबारबाट थप कोरोना संक्रमितको भर्ना बन्द गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै अस्पतालले सोमबारदेखि थप कोरोना संक्रमितको उपचार गर्न नसक्ने जनाएको हो । अक्सिजन सहज रूपमा उपलब्ध गराउन नसक्ने भएकाले नयाँ कोभिडका बिरामी भर्ना नलिने अवस्था आएको मेडिकल सुपरिटेन्डेन्ट प्रा।डा। साधन मुखीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दैनिक दुई सयजना गम्भीर प्रकृतिका बिरामीको उपचार हुँदै आएकोमा अक्सिजनको आपूर्ति नियमित नभएकाले उपचारमा समस्या देखिएको अस्पतालको भनाइ छ  ।

‘दैनिक करिब सात सय सिलिन्डरभन्दा बढी अक्सिजन आवश्यक पर्नेमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दैनिक चार सय २० सिलिन्डर मात्र दिने गरेको छ, त्यसैले अक्सिजन अभाव भएको छ,’ मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए  ।, यो समाचार आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्