Logo
Logo

सरकारले खुल्ला गर्‍यो नेपाल प्रवेशको लागि १३ नाका (नामसहित)


दृष्टि संवाददाता


काठमाडौं । कोरोनाको दोस्रो लहर आएसँगै नेपालमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले हाल राजधानी लगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तिव्र फैलिएपछि नेपालसँग जोडिएको सीमानाकाहरुमा कडाई पारिएको थियो । तर, सरकारले नागरिकलाई सहज होस् भनेर भारतबाट नेपाल आउन चाहनेहरुको लागि देशभरका १३ वटा नाका मात्रै खुला गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीटमार्फत कोरोना महामारी नियन्त्रणको लागि यसअघि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकोमा घर फर्किन चाहने नेपालीहरुको सहजताका लागि यी नाकाहरु खुला गरिएको बताएका छन् ।

गृहमन्त्रालयका अनुसार अहिले देशभर ५८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको उल्लेख छ । भारतसँग जोडिएका अधिकांश जिल्लामा पूर्ण निषेधाज्ञा जारी रहेकोले ती जिल्लामा रहेका अन्तर्राष्ट्रिय सीमा नाका समेत बन्द रहेका थिए । सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले गरेको निर्णयसँगै ती सीमानाका खुला रहने बताइएको छ ।

यस्तै गत बिहिबार मध्यरातिदेखि चार्डर र उद्धार उडानबाहेक सबै अन्तर्राष्ट्रिय उडान समेत बन्द गरिएको छ । अहिले साताको दुई दिन राष्ट्रिय ध्वजाबाहक विमानले भने नेपाल–भारत उडान भर्दै आएको छ ।

यो नेपाल र भारतबीच भएको एयर बबल सम्झौता अन्तर्गत् जारी राखिएको सेवा रहेको जनाइएको छ । नियमित उठान नहुँदा अध्ययन, उपचार र व्यापारका लागि आउजाउ गर्न सहज होस् भनेर गत वर्ष नेपाल र भारतबीच एयर बबल सम्झौता भएको थियो ।

सरकारले हवाई मार्गबाट आउन सम्भव नभएका नेपालीहरुलाई नेपाल फर्किन सहज होस् भनेर स्थलमार्गबाट पनि नेपाल आउने बाटो खोलेको जनाएको छ । सुदूर पश्चिमबाट दार्चुलाको पुलाघाट, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी, र कैलालीको गौरीफण्टा नाकाबाट आवश्यक प्रक्रिया पूरा गरेर नेपाल प्रवेश गर्न दिइने भएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिएका छन् ।

त्यस्तै, मन्त्री ज्ञवालीका अनुसार बाँकेको जमुनाह नाका, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया नाकाबाट पनि नेपाल प्रवेशको लागि अनुमति दिइएको छ ।

नेपाल प्रवेशको लागि अनुमति दिइएका १३ नाकाहरु

१. पुलाघाट – दार्चुला
२. झुलाघाट – बैतडी
३. गड्डा चौकी – कञ्चनपुर
४. गौरीफन्टा – कैलाली
५. जमुनाह – बाँके
६. कृष्णनगर –कपिलवस्तु
७. बेलहिया – रुपन्देही
८. वीरगञ्ज – पर्सा
९. गौर – रौतहट
१०. भित्तामोड –धनुषा
११. जोगबनी – मोरङ
१२. काँकडभिट्टा – झापा
१३. पशुपति नगर – इलाम

प्रतिक्रिया दिनुहोस्