Logo
Logo

कवितामा नारी बहस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ चैत । समकालीन नेपाली कवितामा नारी हस्ताक्षर सम्बन्धी विमर्श गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य÷काव्य) विभाग र महिला अध्ययन केन्द्रद्वारा संयुक्त रूपमा आयोजित ‘समकालीन नेपाली कविताका नारी हस्ताक्षर’ विषयक विचार गोष्ठीमा यस्तो बहस गरिएको हो ।
गोष्ठीलाई सम्बोधन गर्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले समकालीन नेपाली कवितामा नारीहरूको सक्रियता र योगदान के–कस्तो छ भन्ने समग्र जानकारी गोष्ठीले दिएको बताउँदै कार्यक्रम सार्थक भएको दाबी गरे । उनले सबैको संश्लेषणबाट सार्थक निष्कर्ष निस्किने बताए ।
साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्राज्ञ डा. हेमनाथ पौडेलले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै समकालीन नेपाली कवितामा नारी हस्ताक्षर उल्लेखनीय रूपमा बृद्धि भइरहेको बताउँदै समकालीन नेपाली कवितामा नारीहरूको अवस्था अभिलेखीकरण गर्ने उद्देश्यले कार्यक्रम कायोजना गरिएको धारणा राखेका थिए ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले मातृशक्ति नै प्रमुख शक्ति भएको उल्लेख गर्दै प्रज्ञा–प्रतिष्ठानले नारी स्रष्टाकै बाहुल्यतामा नारी स्रष्टासम्बन्धी केन्द्रित रहेर गरेको कार्यक्रम संभवतः यो नै पहिलो भएको जिकिर गरे ।
केन्द्रकी अध्यक्ष सीता ओझाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञसभा सदस्य एवम् समालोचक डा. गीता त्रिपाठीले ‘समकालीन नेपाली कविताका नारी हस्ताक्षर’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै नेपाली कविता लेखनमा नारीहरूको उपस्थिति र योगदानका बारेमा प्रकाश पारेका थिए । उनले आफ्नो गोठीपत्र सर्वेक्षणपरक रहेको उल्लेख गर्दै भने, ‘तपाईंहरूको सल्लाह र सुझाबबाट नै यो पूर्ण हुनेछ ।’
डा. त्रिपाठीको गोष्ठीपत्रमाथि प्राज्ञसभा सदस्य एवम् समालोचक डा. रजनी ढकाल र संविधानसभाकी पूर्व सभासद् प्रभा बज्राचार्यले समीक्षा गरेका थिए । लक्ष्मी गौतमले सञ्चालन गरेको कार्यक्रममा वासुदेव ढकाल र किशोर नेपाली प्रतिवेदक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्