
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले वरिष्ठ अधिवक्ताहरूले इजलास अवरुद्ध पारेर आफ्नो मर्यादा विर्सिएको आरोप लगाएका छन् ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी,शम्भु थापा,हरिहर दाहाल,रमण श्रेष्ठ,टीकाराम भट्टराई,गोविन्द बन्दी लगायतले न्यायाधिशद्वय बमकुमार श्रेष्ठ र तेजवहादुर केसी इजलासमा बस्न नहुने जिकिर गर्दै इजलास अवरुद्ध पारेपछि महान्यायाधिवक्ता बडालले बरिष्ठ अधिवक्ताहरुले हैसियत बिर्सेको भन्दै कानुन व्यवसायी आचारसंहिता उल्लंघन गरेको बताएका हुन् ।
आइतबारको इजलाशमा वरिष्ठ अधिवक्ताहरूले न्यायाधिश बमकुमारले नेकपा एकता बदरको फैसला गरेको र तेजवहादुर केसी अघिल्लो प्रतिनिधिसभा विघटनको मुद्दामा पनि इजलासमा रहेको भन्दै दुवै न्यायाधीश बस्न नहुने तर्क गरेका हुन् । उनीहरुले संवैधानिक वाध्यताका कारण प्रधानन्यायाधीश बस्नुपर्ने भए पनि सकेसम्म बिदामा बस्न समेत सुझाएका थिए ।
सोही विषयमा टिप्पणी गर्दै महान्यायाधिवक्ता बडालले भने, ‘यहाँ स्वच्छ सुनुवाइको कुरा गरौं । मिडिया स्टन्ट चलाउन,दबाब सिजना गर्न,विपक्षी शेरवहादुर देउवादेखि दुर्गा पौडेलसम्म बसेर मिडिया ट्रायल गर्ने निर्णय गरेका छन् । अहिले यहाँ त्यही भइरहेको छ । तपाईहरुले आचारसंहितामा ध्यान दिनुभएन भने सचेत बनाउने हैसियत राख्छ बार काउन्सिलले ।’
महान्यायाधिवक्ता बडालले न्यायाधीशले गरेका फैसलाका आधारमा इजलासमा बस्न नमिल्ने हो भने संवैधानिक इजलासमा कुनै पनि न्यायाधीश बाँकी नरहने जिकिर गरेका छन् ।
नेकपा एकता बदर गर्न फैसालमा बहस गर्ने एउटा वकिल आफू पनि रहेको भन्दै उनले नेकपा एकीकरण गराउने कानून व्यवसायीमध्ये आफू पनि एक रहेको जिकिर गरे ।











