Logo
Logo

विषालु च्याउ खाँदा एकै परिवारका ९ जना अस्पतालमा, दुई जनाले प्राण त्यागे


आनन्द श्रेष्ठ


धरान । विषालु च्याउ खाएका कारण संखुवासभाको सिलिचोङ गाउँपालिका–५ याफु बस्ने एकै घर परिवारका ९ जना गम्भीर बिरामी परेकामा दुई जनाको मृत्यु भएको छ ।

बिरामी पर्नेमध्ये घरमुली बुद्धबहादुर राई (वर्ष ७०)बाहेक सबैको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बुवा राईको भने याफु आधारभूत स्वास्थ्य एकाइमा उपचार भइरहेको छ । उपचारका लागि धरान ल्याइएका मध्ये निर्जला राई (२१ वर्ष) र रोजिना राई (९ वर्ष) मृत्यु भएको छ ।

धनकुटा अस्पतालमै सिकिस्त बिरामी परेकी निर्जलालाई विपीको आइसीयू कक्षमा बेड नपाएपछि विराटनगरस्थित लाइभगार्ड अस्पतालमा भर्ना गरिएको एक दिनपछि मृत्यु भएको थियो । बिरामीमध्ये १३ वर्षीया सुगन्ध राईको अवस्था गम्भीर रहेकाले प्रतिष्ठानको आइसीयू कक्षमा उपचार भइरहेको छ । यसैगरी बिरामीमध्ये २५ वर्षीय महेन्द्र राईलाई पीसीआर जाँच गर्दा कोरोना संक्रमण देखिएकाले प्रतिष्ठानकै कोभिड अस्पतालमा भर्ना गरिएको छ ।

अन्य बिरामीको अवस्थामा सुधार हुँदै गए पनि विषालु च्याउले कलेजोमा गम्भीर असर पार्ने भएकाले अहिलेसम्म उनीहरु खतरामुक्त भन्न नमिल्ने डा. अरुण गौतमले जानकारी दिए । गौतमका अनुसार विषालु च्याउ खाएका मानिसको पहिलो लक्षण १२ घण्टादेखि देखिन थाल्छ ।

यसले रगतको माध्यमबाट कलेजोमा गम्भीर असर पार्ने भएकाले वान्ता आउने, पखाला निरन्तर चल्ने गर्दछ । यो लक्षण रोकिए पनि दोस्रो, तेस्रो असरस्वरुप किड्नीमा असर पार्ने, दिमागमा असर भय मानसि सन्तुलनमा समस्या आउने जस्ता समस्या हुन्छन् । यसै घटमा परेका वीरेन्द्र्र राईको मानसिक सन्तुलनमा समस्या आएको र बिरामीलाई कुट्ने गरेको चिकित्सकले जानकारी दिए ।

कसरी खाए च्याउ ?
जेठ ६ गते बिहान घरमा सब्जी खान भनी सहदेव राईले घर नजिकको बारीमा उम्रिएको सेतो अण्डा आकारको अण्डे च्याउ स्थानीय राई भाषामा (वादी तुङमा) भनिने च्याउ ल्याएर बिहानको खानासँग खाएका थिए । दिनभरि केही नभएको ९ जनाको परिवारले बेलुकी रागाको मासुसँग भात खाएर सुते । तर राति १२ बजेपछि सबैलाई वान्ता आउन थाल्यो, पखाला लागेर छटपटाउन थालेपछि गाउँलेहरुले स्थानीय जडीबुटीहरु खुवाए ।

तर, त्यसले पनि केही असर नगरेपछि बिहान तीन घण्टाको बाटो बोकेर गाउँलेले संखुवासभा जिल्ला अस्पतालमा पुर्याए । त्यहाँ पनि उनीहरुको स्वास्थ्यमा सुधार नआएपछि शनिबार बेलुकी धरानको विपी प्रतिष्ठान ल्याइयो । संखुवासभा अस्पतालबाट धरान ल्याउँदा ल्याउँदै रोजिनाको प्राण गइसकेको थियो ।

‘सधैँ खाइरहेको वादी तुङमा भन्ने कुखुराको अण्डाजस्तो सेतो च्याउ त्यस दिन पनि मैले एक केजी जति टिपेर ल्याएर घरका बुवा आमा सबैलाई देखाएको हो । सबैले खान हुने भनेर खाएका थियौँ, तर के चाल परयो कुन्नि राति त साहै्र परिहाल्यो नि भनी त्यो दिनको घटना सुनाउँछन्, च्याउ टिप्ने सहदेव राई ।

याफु गाउँ शोकमग्न
सदरमुकाम संखुवासभा बजारदेखि हिँडेर झण्डै चार घण्टामा पुगिने १३ वटा घरहरु भएको याफु भन्ने दुर्गम गाउँमा पुस्तौदेखि बस्दै आएका रहेछन्, ७० वर्षीय बुद्धबहादुर राईको परिवार । तीन श्रीमतीमध्ये हाल दुई श्रीमतीसहित बस्दै आएका बुद्धबहादुरले कल्पनामा पनि चिताएका थिएनन् कि जाबो च्याउ खाँदा आफ्नो परिवारमा यस्तो ठूलो बज्रपात पर्छ भनेर ।

तीन वर्षअघि घर भित्र्याएकी कान्छी बुहारी र एक नातिनीसमेत गुमाउनुपरेको छ । एकै परिवारमा परेको यो बज्रपातले गाउँ शोकमग्न भएको छिमेकी किसन राई बताउँछन् । किसान खेती गरी पेट पालो गर्दै आएका राई परिवारका सबै जना एकैपटक बिरामी परेका उनीहरुलाई आर्थिक संकट पनि त्यत्तिकै परेको छ । तर धरान, इटहरी, बेलवारी बस्ने छोरीज्वाइँ, आफन्तहरुले सहयोग गरेर काम चलिरहेको बताउँछन्, धरान निवासी माइला ज्वाइँ राजु राई ।

यो खबर सुनेर अस्पताल पुगेकी धरानकी सामाजिक अभियन्ता सरिना लामाले तत्कालै ३० हजार नगद सहयोग गरेकी छिन् । आफ्नी श्रीमती गुमाएर आफू पनि अस्पतालको बेडमा सुतिरहेको सहदेव राईलाई भने आफ्नो ५ महिनाको छोरीको चिन्ताले सताउन थालेको छ । उनी भन्छन्, “साथी त गुमाएँ तर अब यो बच्चालाई कसरी पाल्नु होला सानै छ, कसले दूध खुवाउँछ ?” आमा गुमाएकी पाँच महिनाकी बालिकालाई हाल धरान–५ स्थित खैरेनी बस्ने आफन्त राजु राईले घरमा लगेर पालिरहेको उनैले बताए ।

कसरी चिन्ने विषालु च्याउ ?
नेपालमा हरेक वर्ष वर्षायामको शुरुवाती दिनमा विषालु जंगली च्याउ खाएर बिरामी पर्ने र मर्नेहरुको संख्यामा कमी आएको छैन । गत वर्ष मात्र देशभर विषालु च्याउ खाएका कारण १३ जनाले ज्यान गुमाएका थिए ।

“विशेषत गरिवी, अज्ञानताका कारणले यस्तो घटना हुने गर्छ तर मानिसले विषालु च्याउबारे सामान्य ज्ञान राख्यो भने यस्तो दुर्घटनाबाट बच्न सकिने कुरा धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका प्रिन्सिपल तथा वनस्पतिविज्ञ डा. दिलीपकुमार लिम्बू बताउँछन् । लिम्बूका अनुसार सामान्यता च्याउ भनेको कुहेको सडेको वस्तुबाट उत्पन्न हुने ढुसी हो । जो अन्य ढुसीभन्दा ठूलोरूपमा प्रकट हुन्छ । यो धेरै प्रजातिको हुन्छ ।

जसमध्ये केही खान मिल्छ भने केही मिल्दैन । र कुनै कुनै च्याउ औषधिको रुपमा ज्यादै मूल्यावान पनि हुन्छ । तर जंगलमा पाइने कुनै च्याउ विषालु छ भने त्यो च्याउ सग्लो, राम्रो देखिन्छ किनकि विषालु भएको कारण त्यसलाई कुनै पनि किरा जीवजन्तुले खाएको हुँदैन र त्यसको वरिपरि पनि कोही पर्न चाहँदैन तर खान हुने च्याउमा चाहिँ कीराले खाएको अलिक फोहरमैला लागेको हुन्छ किनकि त्यसलाई अन्य कमिला, कीरा, जीवजन्तुले छोइसकेको हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्