Logo
Logo

बजेटमा ओली गन्ध


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला, त्यसमा पनि झापाको निर्वाचन क्षेत्र नं. ५ मा लाजैलाग्ने गरी बजेट विनियोजन गराएका छन् ।

उनले दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा ३५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला निर्माणका लागि बजेट विनियोजन गराएका छन् । दमकमा बहुतले बसपार्कसहितको सिटी पार्क निर्माण, दुई वर्षभित्र औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गर्ने योजना पारेका छन् ।

झापासहित सप्तरी, उदयपुर, चितवन, पूर्वीनवलपरासी, दाङ, बर्दिया, कञ्चनपुरलगायत २५ जिल्लाको २० हजार हेक्टर खेतीयोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गर्न २ अर्ब ३४ करोड विनियोजन भएको छ । भारतको सिलिगुडीदेखि मेचीनगरको चारआलीसम्म पेट्रोलियम पाइप लाइनका लागि पनि रकम छुट्याएको छ । गौरीगञ्ज गाउँपालिकामा दिगो, सुरक्षित र प्रविधिमैत्री स्मार्ट सिटी निर्माण गरिने भएको छ । मेचीनगर नगरपालिकामा कृषि थोक बजार निर्माणका लागि पनि संघीय सरकारले बजेटको व्यवस्था गर्ने, चन्द्रगढी विमानस्थलको स्तरोन्नति गरिने, चन्द्रगढीमा उच्चस्तरीय प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने, बिर्तामोड–भद्रपुरलगायत देशका प्रमुख सहरी क्षेत्रमा प्रदेश र स्थानीय तहको साझेदारीमा ठूला क्षमताको विद्युतीय बस सञ्चालन गरेमा थप प्रोत्साहन अनुदान दिनेजस्ता योजना उनले बजेटमा हालेका छन् ।

उनले रेल परियोजनाका लागि १० अर्ब ३ करोड विनियोजन गराएका छन् । जबकी, देशमा भित्रिएको एउटा रेल पनि ९ महिनादेखि त्रिपालले छोपेर राखिएको छ ।

चार बर्षपहिल्यै पानीजहाजको टिकट काट्न तयार हुनु भन्ने ओलीले ०७५ फागुन २ गते ललितपुरको एकान्तकुनामा सडक विभागको कार्यालयलाई पानीजहाज कार्यालय बनाउनबाहेक केही गरेनन् । कार्यालय त खोलियो, तर आर्थिक र भौतिक प्रगति दयनीय छ । काठमाडौं चक्रपथ सुधार योजनाको ११ कोठे भवनमा राखिएको रेलको कार्यालयमा सहसचिवस्तरका रजिस्ट्रारसहित १६ जनाको दरबन्दी छ । तर, सातजना कर्मचारीमात्र कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्