Logo
Logo

अशोक लेलैन्डका ९ थान वारुणयन्त्र प्रदेश २ लाई हस्तान्तरण


दृष्टि संवाददाता


काठमाडौं । आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैन्डले प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ९ थान वारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ । प्रदेश २ को मागअनुसार नेसनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त कार्यमा मन्त्रालयलाई दमकल हस्तान्तरण गरिएको हो ।

मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशील राना थापा साथै नेसनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले ९ थान दमकल हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने बताए । चालू आवको बजेटमा यसका निम्ति बजेट उपलब्ध गराइएकाले खरिद गरिएको कुशवाहाको भनाइ छ ।

अशोक लेलैन्डको १६१६ आइएल मोडलको च्यासिसमा बनाइएको दमकलमा जापानिज ‘सिबौरा’ कम्पनीको पम्प प्रयोग गरिएको जनाइएको छ । यसले दमकल जान नसक्ने स्थानमा सजिलै पम्पको प्रयोग गरी दमकलजस्तै काम गर्न सकिने आइएमई मोटर्सले जनाएको छ । यस दमकलमा ५ हजार ५ सय लिटर पानी अट्ने क्षमता रहेको जनाइएको छ । दमकलमा ५ सय लिटर फोम भर्न सकिने यसले आगलागी भएको ठाउँमा छिट्टै र सजिलै धनजनको क्षति हुनबाट रोक्न सकिने कम्पनीको दाबी छ ।

यस प्रकारको अत्याधुनिक दमकल अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलिक वातावरणमैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको कम्पनीको दाबी छ । केही महिनाअगाडि अशोक लेलैन्डको दमकल पूर्वको उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिकाहरू, इटहरी उपमहानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौंको चन्द्रागिरि नगरपालिका साथै नेपाल आयल निगम लिमिटेडलाई हस्तान्तरण गरिएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्