Logo
Logo

रेल छिट्टै सञ्चालनमा आउने मन्त्री नेम्बाङकाे दावी


दृष्टि संवाददाता


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाएको छ ।
बिहीबार मन्त्रालयमा आयोजना भएको कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङले आगामी आर्थिक वर्षमा लक्ष्य लिइएको कार्यक्रम समयसीमा नै सम्पन्न गर्ने गरी काम अघि बढाइएको बताए ।

मन्त्री नेम्वाङले सरकारले पूर्व–पश्चिम राजमार्गको विस्तार र उत्तर दक्षिण जोड्ने राजमार्गहरुको निर्माण अघि बढाउने गरी बजेट बिनियोजन भएको बताए । उनका अनुसार सरकारले रेल, मेट्रो रेल र सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिएको छ । पूर्व–पश्चिम राजमार्गमा कमला–कञ्चनपुर र नारायणगढ–बुटवल सडकको निर्माण अघि बढाइएको छ । विस्तार भइरहेको खण्डमा सुरक्षा मापदण्डसहित चार लेनमा निर्माण भइरहेको छ ।

सरकारले आगामी आवमा जनकपुर–कुर्था–बिजुलपुरा र जोगबनी–बिराटनगर खण्डमा रेल सञ्चालनको तयारी गरेको मन्त्री नेम्वाङले बताए । उनका अनुसार सरकारले सबै प्रदेशमा इम्बोस्ड नम्वर प्लेट वितरणको योजना बनाएको छ । सरकारले विभिन्न स्थानमा जल यातायात सञ्चालनका लागि अवरोध हटाउने उनको दावी छ ।

पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण व्यापारिक करिडोर, राष्ट्रिय राजमार्ग, हुलाकी राजमार्ग लगायतको स्तरोन्नती, नयाँ सडकहरूको निर्माण, द्रुत मार्ग, दुर्गम क्षेत्रमा सडकको पहुँच, सुरुङ मार्ग निर्माण लगायत रेल मार्ग निर्माणका लागि समेत बजेट केन्द्रित भएको मन्त्री नेम्वाङले बताए । 

सो अवसरमा मन्त्री नेम्वाङले रेल सञ्चालन तथा व्यवस्थापन सम्बन्धि रेल सञ्चालन अध्यादेश समेत आइसकेको अवस्थामा अब सरकार छिटोभन्दा छिटो रेल सञ्चालनमा जाने बताए । 

प्रतिक्रिया दिनुहोस्