काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल पक्षका नेताहरूले बाढीपहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन माग गरेका छन् ।
बिहीबार माधव पक्षका १४ जना स्थायी कमिटी सदस्यहरूले विज्ञप्ति जारी गर्दै उद्धार र राहतका कार्यहरू थप प्रभावकारी बनाउन माग गरेका हुन् । निष्पक्ष र पारदर्शीरूपमा राहत उपलब्ध गराउन पनि उनीहरुको माग गरेको छ ।
उनीहरुले बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन सरकारसँग माग गरेका हुन् ।
बाढीपहिरोपीडितलाई सहयोग गर्न सरकारले कुनै पूर्वतयारी नगरेको आरोप उनीहरूले लगाएका छन् । प्राकृतिक विपत्तिमा परेकाहरूलाई आफ्नो ठाउँबाट सहयोग गर्न पनि उनीहरूको सबैमा अपिल छ।












