
काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ ।
बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले आधिकारिकताका लागि आयोगमा निवेदन दिने निर्णय गरेको हाे । दुवै पक्षले एक अर्कालाई कारवाही गरेर पार्टीबाट निकालेपनि निर्वाचन आयोगले मान्यता नदिएपछि उपेन्द्र यादव पक्षले पार्टीकै आधिकारिकताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
कानुन व्यवसायीसँग सल्लाह लिँदा पनि आधिकारिकताका लागि निर्वाचन आयोग जान सुझाव दिएका थिए । साथै लुम्बिनी प्रदेशमा प्रदेश सभा संसदीय दलको ह्वीपलाई उल्लघंन गरेका चारजना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै, सरकारले बजेटमै गिटी बालुवा निकासी गर्ने उल्लेख गरेको विषयलाई फिर्ता लिन पनि आग्रह गरेको छ ।











