काठमाडौं । कर्णाली प्रदेशका चार सांसदहरूलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरूद्ध प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पुनरावेदन निवेदन (भ्याकेट) निवेदन दर्ता गराएको छ ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी नै एमालेको वैधानिक निकाय भएको दाबी गर्दै ओली पक्षले सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गराएको हो । उक्त निवेदनमाथि सुनुवाइ गर्न मंगलबारलाई पेसी तोकिएको छ ।
सर्वोच्च अदाललते जेठ २७ कर्णाली प्रदेश सभाका चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो । महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने भन्दै चार संसदले अदालतमा उजुरी दिएका थिए ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पुनर्बहाली गर्न आदेश दिएको थियो । यी चारैजना सांसद माधवकुमार नेपाल पक्षका हुन् ।
प्रदेश सभामा पार्टीको ह्वीप उल्लंघन गरेर माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई कारबाही गरेका थिए ।












