
काठमाडौं । नेकपा (एमाले) को दुईदिने राष्ट्रिय कार्यकर्ता भेला २१ बुँदे समसामयिक विशेष प्रस्ताव तथा संकल्प पारित गर्दै सम्पन्न भएको छ । आज कार्की बैंक्वेटमा सम्पन्न राष्ट्रिय भेलाले २१ बुँदे विशेष प्रस्ताव र सङ्कल्प पारित गरेको हो ।
मङ्सिर २ र ३ गते काठमाडौंमा सम्पन्न भेलाले पार्टीले भोगेको राजनीतिक धक्का स्वीकार गर्दै सङ्गठनात्मक एकता, शुद्धीकरण र सुदृढीकरणमार्फत पुनः निर्णायक राष्ट्रिय शक्ति बन्ने प्रतिबद्धता जनाएको छ ।
आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुट्ने तथा आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतन्त्रको पुनर्बहालीका लागि आन्दोलन गर्ने सङ्कल्प समेत भेलाले गरेको छ ।
पारित प्रस्तावमा सरकारले राजनीतिक प्रतिशोध साँधेको, मौलिक अधिकारमाथि हस्तक्षेप गरेको र संवैधानिक संस्थाहरूलाई कमजोर बनाएको आरोप लगाइएको छ । एमालेले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गर्न सक्षम न्यायिक आयोग गठन गर्न पनि माग गरेको छ ।
त्यस्तै, महँगी नियन्त्रण, सुकुम्बासी समस्या समाधान, बाढीपीडितको पुनस्र्थापना, भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा राष्ट्रिय हित र स्वाधीनताको संरक्षणमा सरकारलाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।
पार्टीभित्रको सुधार र रूपान्तरणलाई विशेष जोड दिँदै भेलाले नेता–कार्यकर्तामा देखिएका गुटबन्दी, आर्थिक तथा आचरणगत विचलन, विलासी जीवनशैली र जनताबाट टाढिने प्रवृत्ति अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ । जनताको सुझाव, गुनासा र आलोचना सुन्ने, युवा पुस्तासँग संवाद गर्ने तथा नेतृत्वलाई आफ्नो कामप्रति जवाफदेही बनाउने सङ्कल्प पनि प्रस्तावमा समेटिएको छ ।
भेलामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा ’बादल’, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पार्टीको वर्तमान अवस्था, चुनौती र भावी कार्यदिशाबारे सम्बोधन गरेका थिए । भेलामा देशभर र प्रवासबाट गरी ३ हजार ४१४ प्रतिनिधि सहभागी थिए ।


















