Logo
Logo

युद्धको उपचारका लागि परदेशी हुम्लीबाट सहयोग


दृष्टि संवाददाता


सिमकोट । केही दिनअघि हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयास्थित जबुका गाउँका दुवै खुट्टा भाँचिएर घाइते भएका बालक युद्ध शाहीको उपचारका लागि चीनमा रहेका हुम्लीले आर्थिक सहयोग पठाएका छन् ।

उपचारका लागि आर्थिक अवस्था कमजोर भएको समचार राससमा प्रकाशन भएसँगै चीनमा रहेर व्यापार, व्यवसायलगायत अन्य काम गरिरहेका हुम्लीले रु ८१ हजार ७०० सहयोग पठाएका हुज् । चीनमा रहेका ७५ हुम्लीले आफ्नो एक दिनको खाजाबापतको रकम कटाएरसहयोग गरेको चीनमा रहेका सिमकोट–४ बुराउने गाउँका जङ्गबहादुर लामा (निमा) ले बताए ।

लामाले युद्धको घरको आर्थिक अवस्था अति नाजुक भएको तथा बुबा नभएर उपचारमा थप समस्या बनाएको भन्ने समाचार प्रकाशन भएपछि अलिकति भए पनि आर्थिक सहयोग गर्नुपर्छ भन्ने मान्यताले सहयोग रकम जुटाउने कार्यमा नाम्खा गाउँपालिका लिमी गाउँका छुल्ठिम लामासँग मिलेर सङ्कलन गरेको उक्त रकम बुधबार नेपाल पठाएको बताए । बालकको उपचारका लागि आथिंक सङ्कलनका लागि छुल्ठिमसँग मिलेर चीनमा रहेका हुम्लीसँग सहयोग मागेको उनको भनाइ छ ।

हुम्लाका राससकर्मी दाने बोहराको बैंक खातामार्फत ११ वर्षीय बालक युद्धको उपचारका लागि चीनमा रहेका हुम्लीले पठाएको सो रकम बिहीबार प्रमुख जिल्ला अधिकारी गणेश आर्चायलाई हस्तान्तरण गरिएको हो । प्रजिअ आचार्यको सक्रियतामा हाल जिल्लामा बालकको उपचारका लागि आिर्थक सङ्कलन हुने क्रम जारी छ ।

प्रजिअ आर्चायको नेतृत्वमा ‘युद्ध बचाउँ’ अभियान सञ्चालन भइरहेको छ । जिल्लामा व्यक्तिगत तथा विभिन्न संस्थाले गरेर उपचारका लागि आर्थिक सहयोग जुटाउने कार्य जारी छ । हालसम्म युद्धको उपचारका लागि रु दुई लाख ४८ हजार ९३९ सङ्कलन भइसकेको प्रजिअ आर्चायले बताए ।

घाइते बालक युद्धको कर्णाली प्रदेश सुर्खेतमा रहेको प्रादेशिक अस्पतालमा निःशुल्क उपचार भइरहेको छ । उनी चौध वर्षीया दिदीसँग बस्दै आएका छन् । उनको बुबाको केही वर्षअघि नै निधन भएको तथा आमाले अर्कैसँग विवाह गरेका कारण उपचारका लागि आर्थिक अभाव भएको समचार प्रकाशित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्