काठमाडौं । नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गत साता प्रतिगमनविरुद्ध एकजुट भएका प्रमुख पाँच राजनीतिक दलका शीर्षनेताहरुले आफ्नो कुरा सुनाउन वरिष्ठ पत्रकारहरुलाई बोलाए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो मन्तव्य राखेपछि सभाको विसर्जन गर्ने जिम्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को थियो ।
करिब दुई घण्टाको कार्यक्रममा नेताहरुलाई एक घण्टा, पत्रकारहरुलाई एक घण्टा बोल्ने समय तोकिएको थियो । कार्यक्रममा नेता र पत्रकारहरुबीच जुहारी जस्तै चल्यो । ‘म ताक्छु मुढा, मुढा ताक्छ घुँडा’ भनेझैँ पत्रकारहरुले राजनीतिक दलका नेताहरुकै कमी कमजोरीका कारण यस्तो परिस्थिति आएको हो, अहिले ओली प्रतिगामी, देउवा अग्रगामीजस्तो देखिए पनि सबैको शासन भोगेका जनताले ओली र देउवाबीच अन्तर भेट्टाउन नसकेको आरोप लगाए ।

पत्रकारहरुले देउवालाई मात्र होइन, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि चर्को आलोचना गरे । पत्रकारहरुको घोचपेचलाई आनन्दसँग सुनिरहेका शीर्षनेताहरुले राष्ट्रपति र प्रधानमन्त्री मिलेर लोकतन्त्र–संविधान नै ध्वस्त बनाउन खोजेकोले सबै पार्टी एक ठाउँ उभिनुपरेको र संसद् पुनःस्थापनापछि पनि यो संविधान जोगाउन एक हुने प्रतिबद्धता दोहो¥याए । त्यसैबीच एक जना पत्रकारले अबको प्रधानमन्त्री को हो त भन्ने प्रश्न गरे, शीर्षनेताहरुबाट देउवा नै हो, राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा संसद् नै भंग गरे भनेर आक्रोश पोखे ।
पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिने अन्तिम पालो प्रचण्डको थियो । उनले बोल्दाबोल्दै राष्ट्रपतिले संविधानकै हुर्मत लिने काम गरिन्, हामीले राजालाई हटाएर जनतालाई राष्ट्रपति बनाउने ‘सिष्टम’ ल्यायौं । अहिले राष्ट्रपतिबाट त्यही ‘सिष्टम’ भत्काउने खेल भइरहेको छ । बरु… राजा महाराजाहरुले त्यो पदको शान मान राखेका थिए भने । त्यसैबीच थप कुरा खुस्क्याउलान कि भनेर नारायणकाजी श्रेष्ठ दौडदै प्रचण्डकहाँ पुगे । र भने– अब कार्यक्रम टुंग्याउनुस् । त्यस दिन् प्रचण्डको मुखबाट निस्किएको शब्द यत्ति हो । त्यसपछि प्रधानमन्त्रीले तिलको पहाड बनाउँदै राष्ट्रपतिको प्रतिरक्षा गर्न पुगे ।












