Logo
Logo
तामाकोशी जलविद्युत आयोजना

विद्युतमा आत्मनिर्भर बनाउने ‘गेमचेञ्जर’ आयोजना


दृष्टि संवाददाता


काठमाडाैं ।  राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकाे उद्घाटन गरिएकाे छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बहुप्रतीक्षित तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन गरेका हुन् ।

आयोजनाको परीक्षणकाल शुरु भएकै दिन प्रधानमन्त्रीले आयोजनाको उद्घाटन गरेका हुन् । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन सुरू भएकाे छ ।

आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट छ । प्रआयोजनामा रहेका ७६/७६ मेगावाट क्षमताका ६ वटा टर्वाइनमध्ये एउटा चलाएर परीक्षण उत्पादन शुरु भएको हो । पूर्ण क्षमतामा चल्न थालेपछि आयोजना नेपालको जलविद्युत क्षेत्रको विकासका लागि कोसेढुंगा सावित हुने प्राधिकरणको विश्वास छ ।

आयोजनाको भर्चुअल उद्घाटन गर्दै ओलीले विद्युत सस्तोमा निर्यात गरेर आफ्ना उपभोक्तालाई महँगोमा बेच्न नहुने बताएका छन् । उनले विद्युत आपूर्तिका कारणले यस्तो भइरहेको भन्दै यस पक्षमा के गर्न सकिन्छ भनेर सरकारले ब्रिफिङ लिइरहेको बताए । उनले नेपालका उद्योगमा विद्युत उपभोगमा बढावा दिन पनि बिजुलीको मूल्य घटाउन आवश्यक रहेको बताए ।

२०७२ निर्माण सक्ने लक्ष्य  रहेको आयोजना सोही वर्षको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलन तथा भारतीयय नाकाबन्दीका कारण निर्माण सामाग्री अभाव, ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा ढिला भएको थियो।

लट २ को ठेक्का पाएको रतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भइ आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो ।

भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, महामारीको रुपमा विश्वभर फैलिएको कोभिड–१९ लगायतले आयोजनाको निर्माण प्रभावित भएको आयोजनाको भनाइ छ।

लट २ को  ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो ।

आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ। बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ। निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माण सम्पन्न हुँदा भने करिव ९० अर्ब रुपैयाँ लागत पुग्ने अनुमान गरिएको छ। अहिलेसम्म करिब ८५ अर्ब रुपैयाँ लागत पुगिसकेको छ। तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले आयोजनाको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्