Logo
Logo

मन मिले बिहे गर्न सक्छु : मेरिना तुम्सा, सञ्चारकर्मी


दृष्टि संवाददाता


निरन्तरता र दृढता भए सफलता पाइन्छ भन्ने उदाहरण हुन् मोडल तथा सञ्चारकर्मी मेरिना तुम्सा । पटक–पटक ब्यूटी पेजेन्टमा सहभागी भइरहँदा उनकै सहकर्मीहरु उनको कुरा काट्थे । र, भन्थे, ‘काम नपाएपछि मेरिना पटक–पटक ब्यूटी पेजेन्टमा भाग लिन्छिन् ।’ तर, उनी दृढ थिइन्, ‘एकदिन ब्यूटी पेजेन्टको शीर्ष उपाधि उचालेरै छाड्छु ।’ अन्ततः उनी ‘मिस नेपाल आइडल–२०१८’मा विनर बनिन् । ‘मिस लिम्बू–२०१४’मा पार्टिसिपेन्ट भएपछि मोडलिङ करिअर सुरु गरेकी धनकुटा, बोधेकी मेरिना सञ्चारकर्मीका रुपमा चिनिन्छिन् । धरानस्थित विजयपुर एफएम र कृति टेलिभिजनमा आरजे तथा भिजेका रुपमा कार्यरत मेरिना भन्छिन्, ‘आफूलाई सञ्चारकर्मीकै रुपमा चिनाउन चाहन्छु ।’ ‘मिस लिम्बू’, ‘मिस मंगोल नेपाल’, ‘मिस नेशनल आइकन’ हुँदै अन्त्यमा ‘मिस नेपाल आइडल’ बनेकी मेरिनाको दिनचर्या कोरियोग्राफी र सञ्चारकर्ममा वितिरहेको छ । तिनै मेरिनासँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?

सञ्चारकर्ममै व्यस्त छु । विजयपुर एफएम र कृति टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्दै आएकी छु ।

कस्तो कार्यक्रम चलाउनुहुन्छ ?

एफएममा ‘कोही होस् यस्तो साथी’ नामक कार्यक्रम चलाउँछु । जुन कार्यक्रममार्फत मन र भावना मिल्नेहरु साथी बन्न सक्छन् । टेलिभिजनमा पनि इन्टरटेनमेन्ट सम्बन्धी नै कार्यक्रम चलाइरहेकी छु ।

तपाइँ सञ्चारकर्मी कि मोडल ?

म आफूलाई सञ्चारकर्मी नै बन्न रुचाउँछु । हुन त मोडलिङ करिअर सुरु गरेरै सञ्चारकर्म अँगालेकी हुँ । सन् २०१४ मा मिस लिम्बूमा सहभागी भएँ । २०१५ देखि रेडियोमा काम गर्न थालेँ । टेलिभिजनमा चाहिँ २०१७ देखि कार्यक्रम प्रस्तोताको रुपमा काम गर्दै आएकी छु ।

तपाइँले पटक पटक ब्यूटी पेजेन्टमा भाग लिनु भयो है ?

हो, पहिलो पटक ब्यूटी पेजेन्ट ‘मिस लिम्बू’मा सहभागी हुँदा धेरै कुरा सिकेँ । आफ्नो क्षमता पनि थाहा पाएँ । त्यसपछि ब्यूटी पेजेन्टको विजेता नै बन्ने सोच आयो । त्यसपछि अरु कार्यक्रममा पनि भाग लिएँ । मेरो दृढ संकल्पले गर्दा सफल पनि भएँ ।

पटक पटक ब्यूटी पेजेन्टमा भाग लिँदा तपाइँको आलोचना पनि भयो नि ?

कतिपयले गरे होलानन् । तर, मैले काम नपाएर ब्यूटी पेजेन्टमा पटक–पटक भाग लिएकी भने होइन । ब्यूटी पेजेन्ट एउटा सौन्दर्य प्रतियोगितामा मात्र होइन, जहाँ धेरै कुरा सिक्न पाइन्छ । ब्यूटी पेजेन्टमा गएपछि आफ्नो क्षमता थाहा पाएरै म रेडियोमा कार्यक्रम चलाउन थालेकी हुँ ।

अब फेरि पनि भाग लिन हो कि ?

भो अब लिन्न । शीर्ष उपाधि जित्ने मेरो उद्देश्य थियो । त्यो मेरो आत्मविश्वास र मिहिनेतले पूरा भयो । अब सञ्चारकर्मलाई नै निरन्तरता दिन्छु ।

मोडलिङ पनि गर्नु हुन्छ होइन ?

पहिले रहरले गरेकी थिएँ । तर, मोडलिङबाट मलाई खुसी मिलेन । केही भिडियोमा मोडलिङ गरेपछि म मोडलिङ गर्न जन्मिएको होइन रहेछ भन्ने थाहा भयो । त्यसपछि सञ्चार क्षेत्रमा लागेकी हुँ । सञ्चार क्षेत्रमा लाग्ने मेरो सानैदेखिको इच्छा र रुचि पनि हो ।

फिल्म खेल्ने रहर छ कि छैन ?

मलाई फिल्ममा खेल्ने र हिरोइन हुने इच्छा र रहर कहिल्यै जागेन । अहिले पनि म्युजिक भिडियोहरुमा अफरहरु आइरहेको छ । तर, मैले ध्यानै दिएकी छैन ।

फिल्मका लागि अफर आइहाल्यो भने के गर्नुहुन्छ ?

म फिल्मका लागि फिट छैन जस्तो लाग्छ । तैपनि, भविष्यको कुरा भन्न सक्दिनँ । राम्रो प्रोजेक्ट र कथावस्तु भएको फिल्ममा आफर आयो भने सोच्न सक्छु । तर, मेरो फिल्म खेल्ने रहर छैन ।

तपाइँ आफ्नो पेसाबाट सन्तुष्टि हुनुुहुन्छ ?

अहिलेसम्म सन्तुष्ट र खुसी छु । मेरो रहर र इच्छा पूरा गर्दैछु । मिडिया क्षेत्रमा अझै धेरै गर्ने मन छ । मेरो लक्ष्य पनि सञ्चार केन्द्रित नै हो ।

मोडल, त्यसबाहेक आरजे तथा भिजे हुनुहुन्छ । मन पराउनेहरु कतिको भेट्नु भएको छ ?

मन पराउनेहरु त भेटिन्छन् नि । राम्री हुनुहुन्छ । तपाइँको स्वर मनप¥यो भन्दै म्यासेस र कलहरु आउँछ । खुसी नै लाग्छ ।

अफेयर्सचाहिँ चलेको छ कि छैन ?

यो प्रश्नको उत्तर दिनै गाहो । छ भनौँ भने छैन, छैन भनौँ त कसैले पत्याउँदैनन् । वास्तवमा अहिले मेरो अफेसर्य छैन ।

विवाह गर्ने उमेर त भयो नि है ?

भयो नि । मलाई माया गर्ने र मेरो सोच, धारणा र पेसालाई बुझ्ने पाएँ भने जतिखेर पनि विवाह गर्न सक्छु ।

प्रतिक्रिया दिनुहोस्