Logo
Logo

खरानी टकटकाउँदै उठे मीनबहादुर


0
Shares

काठमाडौं । २०८२ भदौ २३ र २४ को आगजनीपछि भाटभटेनीका स्टोरहरूमा बाँकी रहेको खरानी, आगोले जलेका पिलर अझै पनि विगतको क्षतिको सम्झना गराउने दृश्य हो । टंगालस्थित मुख्यालय सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । आगलागीले ध्वस्त भएका भाटभटेनी १२ मध्ये १० वटा स्टोर पुनः सञ्चालनमा आइसकेका छन् भने दमक र हेटौंडाका स्टोर पनि सञ्चालनको अन्तिम तयारीमा छन् ।

The current image has no alternative text. The file name is: minbahadurko-naya-Adhyaya.rtf.jpg

तर भाटभटेनीको पुनर्निर्माणको कथा स्टोरका भित्ताहरू र सामानमा मात्र सीमित छैन । आगजनीबाट ठूलो क्षति बेहोरेको केही महिनापछि समूहका कम्पनीहरू भने नयाँ लगानी र ऋण विस्तारको दिशामा अघि बढिरहेका छन् । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङको स्वामित्व रहेका विभिन्न कम्पनीले अहिले साढे १० अर्ब रुपैयाँभन्दा बढी ऋणको क्षमता बनाएका छन् ।

गुरुङका रियल इस्टेट कम्पनी श्रीवृद्धि होल्डिङ र श्रीनिवास होल्डिङले मात्रै ४ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋण लिन लागेका छन् । श्रीवृद्धिले २ अर्ब ५० करोड र श्रीनिवासले २ अर्ब १० करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि रेटिङ गराएका छन् ।

यससँगै भाटभटेनी इन्भेस्टमेन्ट कम्पनीले दीर्घकालीन र अल्पकालीन गरी ६ अर्ब ४ करोड रुपैयाँको कर्जाका लागि रेटिङ गराएको छ । यसरी हेर्दा, एकातिर आगजनीबाट क्षतिग्रस्त व्यापारिक संरचना पुनः उभ्याउने काम चलिरहेको छ भने, अर्कोतिर गुरुङको लगानी विस्तारको दायरा पनि फराकिलो हुँदै गएको देखिन्छ । देशको आर्थिक विकास, रोजगारीका लागि यो ठूलो योगदान हो ।

आगोपछि पुनर्निर्माण

भाटभटेनीका स्टोरहरूमा आगजनी भएपछि पुनर्निर्माणको काम एक साताभित्रै सुरु गरिएको थियो । तातो खरानी, जलेका फलाम र इँटा पन्छाउँदै चौबीसै घण्टा काम अघि बढाइएको थियो । पूर्णरूपमा जलेको कोटेश्वरस्थित स्टोर पाँच महिनामै सञ्चालनमा ल्याइएको थियो ।

आगजनीको प्रत्यक्ष क्षति व्यवस्थापनसँगै कम्पनीले १० हजारभन्दा बढी कर्मचारीको रोजगारी निरन्तर राखेको छ । दसैं बोनससमेत नकटाई पुनः सञ्चालन भएका स्टोरमा कर्मचारीलाई काममा निरन्तरता दिइएको थियो ।

यसले भाटभटेनीको मुख्य व्यवसायलाई पुनः सञ्चालनमा ल्याउने प्राथमिकता देखाउँछ । तर गुरुङको व्यावसायिक गतिविधि सुपरमार्केटमा मात्र सीमित छैन । पछिल्ला वर्षमा उनले छुट्टाछुट्टै कम्पनीमार्फत रियल इस्टेट, सेयर बजार, जलविद्युत्, सौर्य ऊर्जा, कृषि, अस्पताल, होटल तथा हस्पिटालिटी लगायतका क्षेत्रमा लगानी विस्तार गरेका छन् ।

नयाँ रियल इस्टेट, अर्बौं लगानी

सन् २०२५ मा दर्ता भएका श्रीवृद्धि होल्डिङ र श्रीनिवास होल्डिङको मुख्य उद्देश्य रियल इस्टेट विकास तथा अन्य अल्पकालीन लगानी गतिविधि हो । दुवै कम्पनीमा गुरुङको ६० प्रतिशत र उनकी श्रीमती सावित्री घलेको ४० प्रतिशत स्वामित्व छ ।

श्रीवृद्धिले सन् २०२५ मा २६ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको लगानी पोर्टफोलियो मुख्यतः दोस्रो बजारमा सूचीकृत सेयरमा केन्द्रित छ । गत आवको कुल लगानीमध्ये करिब ७७ प्रतिशत बैंकिङ क्षेत्रमा थियो । त्यसमध्ये ४६ प्रतिशत एउटै कम्पनीमा केन्द्रित थियो । लगानीको यस्तो एकाग्रताले जोखिम बढाउने अवस्था देखिन्छ । कम्पनीको सन् २०२५ को गियरिङ अनुपात २.२ गुणा थियो । श्रीनिवासको लगानी भने जलविद्युत् क्षेत्रमा बढी केन्द्रित छ । गत आवको कुल लगानीमध्ये ७२ प्रतिशत हाइड्रोपावर क्षेत्रमा थियो र त्यसमध्ये ६९ प्रतिशत एउटै कम्पनीमा केन्द्रित थियो ।

एकै क्षेत्रमा र एउटै कम्पनीमा ठूलो हिस्सा लगानी गर्दा पोर्टफोलियोमा विविधीकरण कम हुन्छ । यही कारण गत आवमा श्रीनिवासको लगानी पोर्टफोलियोमा १२ प्रतिशतको घाटा देखिएको थियो । सबैभन्दा ठूलो लगानी रहेको कम्पनीमा २२ प्रतिशतको घाटा हुनु त्यसको प्रमुख कारण बनेको थियो ।

श्रीनिवासको पुँजी संरचना पनि ऋणमा आधारित छ । सन् २०२५ मा कम्पनीको गियरिङ अनुपात ५.१ गुणा थियो । अर्थात् कम्पनीले आफ्नो लगानी विस्तारमा इक्विटीभन्दा ऋणको प्रयोगलाई ठूलो आधार बनाएको देखिन्छ ।

भाटभटेनी इन्भेस्टमेन्टको फड्को

मीनबहादुर गुरुङको लगानी विस्तारको अर्को ठूलो आधार भाटभटेनी इन्भेस्टमेन्ट कम्पनी हो । सन् २०२४ मा स्थापना भएको यो कम्पनीमा गुरुङको परिवार तथा भाटभटेनी ग्रुपको स्वामित्व छ । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरको समेत कम्पनीमा २० प्रतिशत स्वामित्व छ । कम्पनीले हाइड्रोपावर, सौर्य ऊर्जा, कृषि, अस्पताल, होटल तथा हस्पिटालिटी, रियल इस्टेटलगायतका क्षेत्रमा लगानी गरिरहेको छ ।

यसको वित्तीय विस्तारको गति भने अझ उल्लेखनीय छ । सन् २०२४ मा ३ करोड ५० लाख रुपैयाँ मात्रै आम्दानी गरेको कम्पनीले सन् २०२५ मा २ अर्ब २८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको लगानी पोर्टफोलियोमा निजी कम्पनी तथा दर्ता नभएको इक्विटीको हिस्सा ५९ प्रतिशत छ । निर्माणाधीन आयोजनामा यस्तो लगानी रहेको कम्पनीको भनाइ छ । सूचीकृत सेयरमा पनि उल्लेख्य लगानी छ ।

तर लगानी विस्तारसँगै ऋणको भार पनि ठूलो छ । सन् २०२५ सम्म कम्पनीको ट्यान्जिबल नेटवर्थ १ अर्ब ७४ करोड ८० लाख रुपैयाँ रहँदा कुल ऋण ७ अर्ब ५३ करोड ७० लाख रुपैयाँ पुगेको छ । कुल ऋणमा १ अर्ब ६७ करोड ३० लाख रुपैयाँ ब्याजसमेत समावेश छ । कम्पनीको गियरिङ अनुपात ४.३ गुणा छ । कुल ऋणको तुलनामा सञ्चालन नाफाको अनुपात २४.९ गुणा छ । कम्पनीको ऋण सेवा क्षमता सूचक भने २ गुणा रहेको छ ।

क्षतिपछि पुनः उठ्ने रणनीति

आगजनीपछि भाटभटेनीले देखाएको पुनर्निर्माणको गति र गुरुङका कम्पनीहरूले अघि बढाएको लगानी विस्तारलाई एउटै व्यावसायिक रणनीतिको दुई पाटा मान्न सकिन्छ । एउटा पाटोमा मुख्य खुद्रा व्यवसायलाई जोगाउँदै पुनः सञ्चालनमा ल्याउने प्रयास छ भने, अर्को पाटोमा नयाँ क्षेत्रमा लगानीको आधार विस्तार गर्ने देखिन्छ ।

भाटभटेनीले पुनर्निर्माणमा मात्रै होइन, सामाजिक क्षेत्रमा समेत आफ्नो पूर्वप्रतिबद्धता अघि बढाएको छ । काठमाडौंमा सञ्चालनको तयारीमा रहेको बाल अस्पतालका लागि कम्पनीले ७१ करोड रुपैयाँभन्दा बढी खर्च गरेको जनाएको छ ।

आगजनीपछि ध्वस्त संरचना उठाउन ठूलो समय र स्रोत आवश्यक पर्ने अवस्थामा समेत कम्पनीले पुनर्निर्माणलाई तीव्रता दिएको छ । तर त्यही समय गुरुङका लगानी कम्पनीहरूको ऋण र लगानीको आकार पनि बढिरहेको छ ।

अहिलेको तथ्यांकले भने एउटा स्पष्ट तस्वीर दिन्छ । भाटभटेनीका स्टोरहरू आगोबाट खरानी भएका ठाउँबाट फेरि उठिरहेका छन्, र त्यसैबीच गुरुङको लगानीको दायरा सुपरमार्केटको सीमाभन्दा धेरै पर फैलिँदै गएको छ । नयाँ कम्पनी, नयाँ क्षेत्रमा लगानी र अर्बौंको ऋण क्षमताले यो विस्तारलाई थप स्पष्ट बनाएको छ ।

खरानी टकटकाउँदै स्टोरका ढोका खोल्ने क्रम चलिरहँदा गुरुङको अर्को व्यावसायिक अध्याय भने अर्बौंको लगानी र ऋणसँग जोडिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्